सुर्खेत -कर्णाली प्रदेशमा एकै दिन तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बिहीवार तीन जना संक्रमितको ज्यान गएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
संक्रमित कालीकोटका दुई र हुम्लाका एक जनाको मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय ६३ पुगेको छ। दोस्रो लहरको सुरूवातमा दैनिक १०–१२ जना संक्रमितको मृत्यु हुने गरेकोमा पछिल्ला दिनमा भने मृत्युदर घटेको छ ।
प्रदेशमा हालसम्म सबैभन्दा बढी सुर्खेतमा दुई सय आठ जनाको कोरोनाका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । त्यस्तै, सल्यानमा ५३, रुकुम–पश्चिममा ३४, दैलेखमा २४, जुम्लामा १७, कालीकोटमा सात, डोल्पा र हुम्लामा पाँच÷पाँच, मुगु र जाजरकोटमा तीन÷तीन तथा अन्य प्रदेशका चार जनाको मृत्यु भएको हो ।
यसैबीच, बिहीवार कर्णालीमा ८४ जना कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार दुई सय ८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ । योसहित अहिलेसम्म प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ३१ हजार आठ सय ६३ पुगेको छ ।