☰ open Loading... 25 November 2024|  

दैलेखको गुराँस गाउँपालिकामा टिस्यू कल्चर ल्याब
  | ७ भाद्र २०७८, सोमबार ०५:१३

 

दैलेखको गुराँस गाउँपालिकामा आलुको मूल बिउ उत्पादन गर्न टिस्यू कल्चर ल्याब स्थापना गरिएको छ । तरकारी र फलफूल लगायतका कृषिजन्य उत्पादनको पकेट क्षेत्र मानिने गुराँस गाउँपालिकाको घोडाबासमा टिस्यू कल्चर ल्याब निर्माण गरिएको हो । उक्त ल्याब कर्णालीकै पहिलो भएको गाउँपालिकाले जनाएको छ । ल्याब स्थापनासँगै किसानहरूलाई आलुको मूल बिउ उत्पादन गर्न सहज हुने अपेक्षा गरिएको छ । पालिकाका अध्यक्ष खेमराज वलीले कृषकलाई व्यावसायिक बनाउन र आम्दानी वृद्धि गर्न पालिकाले घोडाबासमा लागत साझेदारीमा ल्याब निर्माण गरेको बताए ।

टिस्यू कल्चर कलमी तथा हाइब्रिट गरेर विरूवाहरू उत्पादन गर्ने प्रविधि हो । ल्याब निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । टिस्यू कल्चर ल्याबबाट वार्षिक आलुको पूर्वमूल बिउ १० लाख दाना र पाँच लाख वटा फलफूलका विरुवा उत्पादन गर्ने योजना रहेको नेपाल कृषि विकास फार्मका सञ्चालक देवेन्द्र अधिकारीले बताए । ल्याबबाट उच्चस्तरीय र स्वस्थ गुणस्तरीय आलुको मूल बिउ उत्पादन हुने उनी बताउँछन् । ल्याबको बिउ गुणस्तरीय हुने र यसले उत्पादनसमेत बढ्ने उनको भनाइ छ । अधिकारी भन्छन्, ‘ल्याबबाट उत्पादित बिउ शतप्रतिशत स्वस्थ हुनेहुँदा खेर जाँदैन । कृषकहरूलाई खेती गर्न पनि सहज हुन्छ ।’

गुराँसका झन्डै तीन हजार कृषकहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न र उनीहरूको आयस्तर वृद्धि गर्न कृषि प्रविधिहरूको विकासमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष वली बताउँछन् । अहिले महङ्गोमा बिउ खरिद गर्न बाध्य किसानलाई ल्याबबाट उत्पादित बिउ सहुलियतमा उपलब्ध गराउने उनले जनाए ।

उक्त ल्याब निर्माणका लागि गाउँपालिकाले एक करोड ९५ लाख र कृषि विकास फार्मले दुई करोड पाँच लाख लगानी गरेको जनाइएको छ । ल्याबबाट हुने आम्दानीको २० प्रतिशत गुराँस पालिकाको राजस्वमा जम्मा हुने र बाँकी ८० प्रतिशत फार्मले लिनेछ । ल्याब सञ्चालनका लागि २१ वर्षका लागि ७० रोपनी जग्गा भाडामा लिइएको छ ।