काठमाडौँ : यौन दुर्व्यवहारको आरोप लागेका कर्णाली प्रदेश सरकारका कृषि, भूमि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दल एमालेले माग गरेको छ । प्रतिपक्षी दल नेकपा एमालेका कर्णाली प्रदेश प्रमुख तथा संसदीय दलका नेता यामलाल कँडेलले यौन दुर्व्यवहारको आरोप लागेका मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।
कृषिमन्त्री शाहीमाथि दुई वर्षपहिले तत्कालिन स्वकीय सचिवकी श्रीमतिलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । २०७६ सालमा यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको भन्दै केही सञ्चारमाध्यमले समाचार समेत प्रकाशित गरेका छन् । तर भिडियो भने अहिलेसम्म सार्वजनिक भएको छैन । सोही कारण कृषिमन्त्री शाहीमाथिको आरोपमा लेखिएका समाचारमाथि नै प्रश्न उठिरहेका छन् ।
सञ्चारमाध्यममा समाचार र सामाजिक सञ्जालमा कृषिमन्त्री शाहीमाथि छानबिन हुनुपर्ने माग उठेपछि एमाले कर्णाली प्रदेश प्रमुख कँडेलले तत्काल आरोपित मन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।
कँडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेशको गरिमा र सम्मानका लागि अबिलम्ब आरोपित मन्त्रीलाई बर्खास्त गरियोस ।’ शाही तत्कालिन एमालेबाट मुख्यमन्त्री जीवन शाहीलाई विश्वासको मत दिँदा फ्लोर क्रस गरेपछि चर्चामा आउनुका साथै मन्त्री बनेका थिए ।
पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले शाही लगायत फ्लोर क्रस गर्ने चार जना सांसदलाई पदमुक्त गरिसकेको छ ।