सुर्खेत, ९ भदौ । जेसीजको क्षेत्र ‘घ’ सम्मेलन वीरेन्द्रनगरमा हुँदै छ । नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजका आतिथ्यतामा भदौ ११ देखि १२ गते हुन लागेको हो । दुई दिनसम्म संचालन हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको सम्मेलन निर्देशक नन्द बिसीले जानकारी दिए । आयोजकले बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।
सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुहुने छ । कोरोना महामारीका कारण सम्मेलन भौतिक उपस्थिती र अनलाइन जुम मार्फत हुने गर्ने आयोजकले जनाएको छ । निर्देशक बिसीले भौतिक रुपमा सिमित व्यक्तित्वहरुलाई मात्रै उपस्थित गराइने जनस्वास्थ्यका मापदडलाई पूर्ण रुपमा पालना गर्दै कम संख्यामा भौैतिक रुपमा र भचुर्अल रुपमा संचालन गरिने जानकारी दिए । उनका अनुसार कोरोनाका कारण शाखा अध्यक्षहरुलाई अनिवार्य भौतिक रुपमा उपस्थित र सदस्यहरुलाई जुुममा सहभागि गराइने छ । शाखाहरुबाछ अध्यक्ष र भर्चुअल रुपमा क्षेत्र ‘घ’ का छ सय बढी यूवाहरु सहभागी गराइने उनले जानकारी दिए ।
नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले सम्मेलनले १८ वर्षदेखि ४० वर्ष मुनिका युवालाई सकारात्मक सन्देशका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुग्ने बताए । उनले यस क्षेत्रको व्यापार, पर्यटन तथा पहिचान प्रवद्धनमा टेवा पुग्ने पनि विश्वास व्यक्त गरे । कर्णाली प्रदेशलाई पर्यटकिय हिसाबले देशभरी परिचित गराउने अपेक्षा गरिएको उनको भनाई छ । उनका अनुसार नेपाल जेसिजले प्रत्येक वर्ष सम्मेलनको आयोजना गर्दै आएको छ ।
| ९ भाद्र २०७८, बुधबार १९:१२