काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने जनाउनुभएको छ ।
मङ्गलवार सम्पन्न स्थायी कमिटीको बैठकका निर्णय र समसामयिक राजनीतिबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सङ्गठनात्मक क्षेत्रमा अबको ध्यान असोज पहिलो हप्ताको विधान महाधिवेशन र मङ्सिर दोस्रो साता आयोजना हुने राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहने बताउनुभएको हो ।
एमालेबाट अलग भएका माधवकुमार नेपालसहितका नेताहरू नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि सनाखतमा जुटिरहेका बेला अध्यक्ष ओलीद्वारा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा एकताका लागि स्थायी कमिटीको बैठकबाट पारित प्रस्ताव प्रस्तुत गरिएको थियो।
उहाँले लामो समयदेखि जारी समस्यालाई समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन यसबीचमा अनेकौँ प्रयास भएको तथा एकतालाई कायम राख्न र थप सुदृढ बनाउन तथा पार्टीलाई विभाजित हुन नदिन सकारात्मक योगदान गर्ने कार्यदलका सदस्य एवं अन्य सबै नेतालाई धन्यवाद दिँदै उहाँले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सङ्गठनात्मक रुपमा चुस्त, भावनात्मक रुपमा एकताबद्ध तथा साझा लक्ष्यप्रति सङ्कल्पबद्ध बनाइने बताउनुभयो ।