☰ open Loading... 19 November 2024|  

एक महिना अघिदेखि चार किशोर सम्पर्कविहिन्
  | ११ भाद्र २०७८, शुक्रबार ०५:१९

 

 

जुम्ला- तातोपानी गाउँपालिका ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पदमबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देवीभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत एक महिना अघिदेखि सम्पर्कमा नआएको सोही गाउका स्थानीय युवा राजु रावतले जानकारी दिनुभयो ।

यहाँका प्रायः नागरिक मजदुरीका लागि भारतको हिमाञ्चल, उत्तर प्रदेशमा जान्छन्,” राजुले भन्नुभयो, “त्यही भएर भारतमा उपलब्ध हाम्रा आफन्त र चिनजानेका सबैसँग सम्पर्क गर्र्यौं तर उनीहरु कतै पनि नपुगेको खबर आयो, ।” तरपनि गाउँलेहरुले उनीहरु कालापहाड गएको हुन सक्ने आशंका गरेको उहाँले बताउनुभयो ।

तुल रावतका बुबा गोविन्द रावतले लामो समयदेखि छोरा नआएकोले चिन्ताले सताएको दुखेसो गर्नुभयो । “साउने संक्रान्तिको बेलुकादेखि मेरा छोरासहित चारैजना सम्पर्कविहिन छन् । घरमा आउलान् भन्दा भन्दा त महिना दिन बित्यो,गोविन्दले भन्नुभयो, “तरपनि उनीहरु अहिलेसम्म घर फर्केका छैनन् र कहाँ छन् भन्ने पनि पत्तो छैन ।” उनीहरु भारत कहिल्यै नगएकोले कहीँकतै बेचबिखनमा पर्ने हुन् कि भन्ने कुराले अभिभावकहरुलाई चिन्तित बनाएको छ ।

अहिलेसम्म यो ठाउँमा छन् भन्ने अत्तोपत्तो नभएकोले उहाँले सञ्चार माध्यमबाट खोजिदिन आग्रह गर्नुभयो । राजु रावतका अनुसार सम्पर्कविहिन चारैजना किशोरहरु सुर्कीगाउँ अवस्थित दुर्गा मावि मधुमा कक्षा ८ र ९ मा अध्ययनरत थिए ।

यस्तै जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले यस विषयमा आज मात्र सामान्य जानकारी आएकोले सघनरुपले बुझेर खोज अनुसन्धानमा लाग्ने बताउनुभयो । प्रजिअ प्रसाईले कालापहाड गएको भन्ने आशंका गरिएकोले यसबारे सबै तहका सरकारहरुले चासो दिनुपर्ने जनाउनुभयो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले आफु कहाँ त्यसबारे कुनै जानकारी नआएको बताउनुभयो ।