☰ open Loading... 8 May 2025|  

साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा हुने
  | ११ भाद्र २०७८, शुक्रबार ०५:२९

 

काठमाडौं । राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपका लागि अन्तिम तयारी कतारको दोहामा गर्ने भएको छ ।असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली भदौ २५ गते कतार जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । त्यहाँबाट टोली असोज ११ गते माल्दिभ्स जानेछ ।

अर्को साता भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलको तयारीका लागि टोली अहिले पोखरामा रहेको छ । नेपाल र भारतबीच दशरथ रंगशालामा भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ । भारत पनि साफ च्याम्पियनसिपको तयारीकै क्रममा मैत्रीपूर्ण खेलका लागि नेपाल आउन लागेको हो ।

आयोजकसमेत रहेको साविक विजेता माल्दिभ्सँग असोज १५ गते खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ र तेस्रो खेलमा भारतसँग असोज २४ तथा लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ गते खेल्नेछ ।पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० गते प्रतिस्पर्धा गर्नेछन् ।