काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप पाँच जिल्लाको क्रियाशील सदस्यको नामावली सूची सार्वजनिक गरेको छ ।
क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका पाँच जिल्लाका क्रियाशील सदस्यको नामवली सार्वजनिक गरिएको समितिक संयोजक महादेव प्रसाद यादवले जानकारी दिनुभयो । योसँगै क्रियाशील सदस्यको नामावली सार्वजनिक हुने जिल्लाको संख्या ५३ पुगेको छ ।
समितिले नुवाकोट, धादिङ, चिवतन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको हो । साथै यी जिल्लाहरूमा निर्वाचन अधिकृत पनि खटाइएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि समितिले बिहीबार ३८ र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकेको थियो । क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटबाट हेर्न सकिने समितिले जनाएको छ ।
शुक्रबार राति र शनिबार बिहानदेखि प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलले पार्टीको सम्पूर्ण ध्यान महाधिवेशनमा लगाउनुपर्नेमा सहमति भएको थियो ।
यसैबीच कांग्रेस जिल्ला सभापतिहरूको जारी अनशन तोडाउन कृष्णप्रसाद सिटौला नेतृत्वको डा. मिनेन्द्र रिजाल, रमेश लेखकको क्रियाशील सदस्यता विवाद समाधान समितिको टोली सानेपा जाँदैछ । कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग राख्दै रिले अनसनमा बसेका थिए ।