| १४ भाद्र २०७८, सोमबार ०६:३०
जुम्ला । लगातारको भारी वर्षाले पहिरो आएपछि कर्णाली राजमार्गबाट जुम्ला हुँदै जाजरकोट जोड्ने सडकको त्रिवेणी भेरी खोला क्षेत्रको टोप्ला खण्ड एक सातादेखि अवरुद्ध भएको छ ।जुम्ला जाजरकोट सडकको त्रिवेणी हुँदै टोप्ला सडक खण्ड अन्तर्गतको तातोपानी गाउँपालिका –७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक एक सातादेखि अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा टोप्ला क्षेत्रका दर्जनौँ गाउँ बस्तीका नागरिकको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अवरुद्ध सडक खण्ड नखुलेपछि सवारी आगमनसहित मान्छेलाई आवतजावतमा समेत अप्ठ्यारो भएको स्थानीयवासीले बताएका छन् ।सडक अवरुद्ध हुँदा पुन नुन, चामल लगायतका दैनिक उपभोग्य सामग्री गाउँमा लैजान समस्या भएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग पहल भइरहेको बताए ।