सुर्खेत/कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोपको समाचार प्रकाशित भएपछि असुरक्षित भएका पत्रकारहरुको अवस्था बुझ्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गठन गरेको मिडिया मिसनले घटनाको अध्ययन सुरु गरेको छ ।
पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य दिपेन्द्र शर्मासहितको गठित मिडिया मिसनले असुरक्षित र पीडित भएका पत्रकारद्वय नगेन्द्र उपाध्याय र बिस्नप्रसाद न्यौपाने, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुर्खेतका अन्य पत्रकार तथा अधिकारकर्मीवीच सुझाव लिएर अध्ययन सुरु गरेको हो ।
पीडित पत्रकारद्वय उपाध्याय र न्यौपानेले समाचार लेखिसकेपछि घरमा बस्ने अवस्था नभएकोले बाहिर बस्नु परेको, बजारतिर आउँदा नचिनेका व्यक्तिहरुले पिछा गर्ने गरेको, फोन तथा सामाजिक संजालबाट ज्यान मार्ने धम्की दिइएकोले आफूहरु असुरक्षित भएको बताए । उनीहरुले महासंघले पत्रकारमाथि भएको अवस्थाको अध्ययन गर्न गठन गरेको मिडिया मिसनले आशावादी जगाएको भन्दै अझैपनि सुरक्षित अवस्थाको महसुस गर्न नपाएको उल्लेख गरे ।
अधिवक्ता दुर्गाप्रसाद सापकोटा, सम्वाद समूहका संयोजक देवेन्द्र सेजुवाल, पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष श्रीधर पौड्यालले समाचार प्रकाशित गरेको आधारमा पत्रकारहरुमाथि भौतिक असुरक्षा बढ्नुले दण्डहीनता भएको बताए । पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटाले पत्रकारहरुको सुरक्षाका लागि महासंघले धेरै पहल गरेको जनाए । मिडिया मिसन टोलीका संयोजक एवं महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश विष्टले तथ्यमा आधारित भएर लेखेको समाचार सार्वजनिक भएपछि पत्रकारहरु असुरक्षित हुनु नपर्ने बताए । उनले यस घटनाको थप फ्लोअप गर्न सुझाव दिदैं प्रदेश सरकारले यस घटनाको वारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए । पत्रकारहरु असुरक्षित हुनुपर्ने अवस्था कहीं कतैबाट आउन नहुनेमा जोड दिदैं उनले मिडिया मिसनले यस घटनाको सुक्ष्मरुपबाट अध्ययन गर्ने उल्लेख गरे ।
यसैवीच टोलीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग पनि भेट गरेको छ । भेटमा बरिष्ठ उपाध्यक्ष विष्टले मन्त्रीमाथि लागेको आरोपले प्रदेश सरकारको लोकप्रियतामाथि आँच आएकोले यसले बाहिर नराम्रो सन्देश गएको हुँदा प्रदेश सरकराले जतिसक्यो छिटो उचित कदम लिनुपर्ने बताए । उनले समाचार लेखेकै आधारमा पत्रकारहरु असुरक्षित हुन नहुने भन्दै पत्रकारहरुको सुरक्षा गर्नु प्रदेश सरकारको पनि दायित्व भएको स्मरण गराए ।
जवाफमा मुख्यमन्त्री शाहीले पत्रकारहरुको सुरक्षाका लागि प्रदेश सरकार पूर्णरुपमा प्रतिवद्धता भएको बताउँदै घटनावारेमा सुक्ष्म अध्ययन गरिरहेको उल्लेख गरे । उनले यस घटनाका वारेमा अध्ययन गर्न लागेकोले दुई चार दिन समय लाग्ने बताए । भेटका क्रममा केन्द्रीय बरिष्ठ उपाध्यक्ष विष्टसहित महासंघका प्रदेश अध्यक्ष देवीराम देवकोटा, जिल्ला अध्यक्ष ललित बसेल र पत्रकार सुशील शर्मा सहभागी थिए ।पहिलो प्रेस मा छ यो समाचार