बन्दीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सकारात्मक भए पनि मन्त्री बन्नेको सूची लामो रहेकाले कसको कोटाबाट नियुक्त गर्ने भन्नेमा भने अन्योल छ ।एकीकृत समाजवादीको कोटाबाट नियुक्ति गर्नुपर्ने भए बन्दी र राष्ट्रियसभामा स्वतन्त्र हैसियतमा निर्वाचित खिमलाल देवकोटामध्ये एक जनालाई विषय विज्ञका रूपमा मन्त्री बनाउने तयारी छ ।
गठबन्धनको साझा कोठाबाट बन्दीलाई कानुनमन्त्री बनाउने सम्भावना पनि उत्तिकै छ । समाजवादीका अध्यक्ष नेपालले गैरसांसद कानुनविद्लाई कानुनमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेको प्रधानमन्त्री देउवाले कांग्रेस भेलामा पनि सुनाएका थिए ।
एमाले पृष्ठभूमिका बन्दी तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका दुईवटै संसद विघटनका मुद्दामा गठबन्धनका कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए । ओलीले गरेको दोस्रो संसद विघटनपछि उनको सम्बन्ध देउवासँग नजिकिएको थियो । सर्वोच्चको फैसला आउनु अघिल्लो दिन समेत देउवाले बन्दीलाई बूढानीलकण्ठ बोलाएर मुद्दाको स्थितिबारे जानकारी लिएका थिए ।
बन्दीले सर्वोच्चबाट प्रधानमन्त्री नियुक्तिको परमादेश नै आउने दाबी गरेपछि बल्ल देउवा ढुक्क भएको कांग्रेस स्रोत बताउँछ ।बन्दीले भने शीर्ष तहमा छलफल भएको आफूले सुने पनि आधिकारिक रूपमा कसैले केही नभनेको बताउँछन् । ‘मसँग कुनै कुरा भएको छैन,’ उनले भने ।
एमाले विभाजन गरी बनेको नेकपा एकीकृत समाजवादी पार्टीको विधानसमेत उनै बन्दीले तयार पारेका थिए । उनी समाजवादी अध्यक्ष नेपालका सम्धी सोमप्रसाद पाण्डेका साढु भाइसमेत हुन् । अधिवक्ता बन्दीले विगतमा सशस्त्र द्वन्द्वकालीन गम्भीर मानवअधिकार उल्लंघनका घटना अन्तर्राष्ट्रियकरण गर्न र संक्रमणकालीन न्यायका लागि काम गरेका थिए । उनलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन खोजिएको थियो ।
तत्कालीन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड सहमत पनि थिए । कांग्रेस सभापति देउवाको अडानले गणेशदत्त भट्ट नियुक्त भए । आयोगको काम सुस्त भएको भन्दै प्रचण्डले बन्दीलाई अध्यक्ष हुन पुनः आग्रह गरेका थिए । तर, उनले अस्वीकार गरेका थिए ।
बन्दीलाई कानुनमन्त्री बनाएर संक्रमणकालीन न्याय र सत्य निरुपण, बेपत्ता नागरिक खोजी तथा मेलमिलाप आयोगसम्बन्धी कानुन संशोधन गरेर शान्ति प्रक्रियालाई टुंग्याउने योजनामा गठबन्धन दलहरू देखिएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८, १२:५८:००