☰ open Loading... 5 February 2025|  

दैलेखमा आमा छोराले सँगै दिए कक्षा १२को परिक्षा
  | ३१ भाद्र २०७८, बिहीबार ०६:२४

 

 

 

यामराज बिष्ट

दैलेख -बुधबारदेखी देशभर कक्षा १२ को परिक्षा शुरु भएको छ । कोरोना भाइरस महामारीका कारण गत वैशाखमा हुन नसकेको परीक्षा बुधबारबाट शुरु भएको हो ।राष्ट्रिय परीक्षा बोर्डले देशभर परीक्षा लिने भएपछि दैलेखमा पनि एकै घरका आमा छोरीले कक्षा १२ को परीक्षा दिएका छन् ।

जिल्लाको नारायण नगरपालिका ११, बिन्धावाशिनीस्थित रहेको श्री रैना देवी माध्यमिक विद्यालय टाटामाखू दैलेखबाट बुधबार परीक्षाको पहिलो दिन आमा छोराले सँगै परीक्षा दिएका हुन् । ३६ वर्षीया आमा टिका कुमारी भण्डारी र उनका १८ वर्षीय छोरा दिनेश भण्डारीले कक्षा १२ को परीक्षा दिएको विद्यालयका शिक्षक प्रेम बहादुर बिष्टले पश्चिम नेपाललाई जानकारी दिए।

 

यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी भएपछि घरधन्दाका अतिरिक्त उनलाई पढाइको चटारो थपिएको छ । ‘परीक्षा शुरु भएपछि पढाइको चटारो छ’, भण्डारीले भनिन्, ‘जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ ।’ पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै रैना देवी माध्यमिक विद्यालयबाट १८ वर्षका छोरासँगै आफुले परीक्षा दिन लागेको उनले बताइन् ।

 

मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलतासाथ पूरा गर्न सकिन्छ भन्ने उदाहरण बन्न पुगेकी छन् ३६ वर्षीया भण्डारी । अहिलेका नयाँ पुस्तासँग हामी आमा उमेरकाले सँगै परीक्षा दिँदा गर्व लाग्ने बताउँदै भण्डारी यसले पढाइको महत्वलाई दर्शाउने बताउँछिन् ।