☰ open Loading... 20 November 2024|  

पाँच वर्षमा २३ सामुहिक हत्या
  | १ आश्विन २०७८, शुक्रबार ०५:३५

काठमाडौं । देशभर पाँच वर्षयता २३ वटा सामूहिक हत्याका घटना भएको छ । घटनामा ११ बालक, पाँच बालिका, २५ महिला र २७ पुरुष गरी ६८ जनाको हत्या भएकोे छ ।

तथ्याङ्कअनुसार कर्णालीमा पाँच, प्रदेश १ मा तीन, प्रदेश २ मा तीन, बागमतीमा चार, लुम्बिनीमा दुई र सुदूरपश्चिम प्रदेशमा छ वटा सामूहिक हत्याको घटना भएका छन् । आर्थिक वर्ष २०७७/७८ को काठमाडौं उपत्यकाभित्र भएको हत्याको तथ्याङ्क केलाउने हो भने प्रत्येक महिना तीन जनाको हत्या हुने गरेको देखिएको छ ।

घरायसी सम्पत्ति वा अंशवण्डामा कुरा नमिल्दा र परपुरुष वा परस्त्रीसँगको गोप्य सम्बन्ध बाहिरिनु, अधिकांश सामुहिक हत्याका कारण भएको पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल बताउनुहुन्छ । यद्यपि सबै विषयलाई एउटै डालोमा राखेर हेर्न नहुने उहाँको भनाइ छ ।

देशभरको तथ्याङ्क हेर्दा दैनिक एकजना मानिस मारिने गरेका छन् । यसवर्ष देशभर ६ सय ९७ जनाको हत्या भएको थियो । यो अघिल्लो आर्थिक वर्षभन्दा २५ प्रतिशतले बढी हो ।

यस्ता घटना खास गरी डिप्रेसन, आर्थिक तथा पारिवारिक समस्याका कारण हुने गरेको प्रहरी प्रधान कार्यालयको आंकलन छ । यस्ता अपराध घरभित्रैबाट बढी हुने गरेको पूर्व प्रहरी नायब महानिरीक्षक मल्ल बताउनुहुन्छ । सम्झाएर वा प्रचारप्रसार गरेर घरभित्रको घटना रोक्न नसकिने उहाँको भनाइ छ ।

यस्ता घटनामा कल्पनै नगरिएका पात्र दोषी प्रमाणित हुन थालेपछि अनुसन्धान गर्ने प्रहरी अधिकृतका लागि टाउको दुखाइको विषय बनेको छ ।
हेर्दा सामान्य लाग्ने यस्ता घटनामध्ये कति त अपराधी पत्ता लाग्न नसकेर वर्षौंदेखि टाँगिएका छन् । अपराध हुनुभन्दा अपराधको विरुवा नै नामेठ गर्ने तर्फ सचेत हुन जरुरी छ ।