☰ open Loading... 26 December 2024|  

नर्सिङ परीक्षाको नतिजा प्रकाशनमा चरम लापरबाही भएको आशङ्का
  | १ आश्विन २०७८, शुक्रबार ०५:३९

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको परीक्षा समितिले नर्सिङ स्टाफ परीक्षाको नतिजा प्रकाशनमा ठुलो लापरबाही गरेको पाइएको छ । ५० जनाको सर्ट लिस्टमा नामै नभएकी उम्मेदवारलाई १ नम्बर सफल उम्मेदवारका रुपमा छनौट गरी अन्तिम नतिजाको सूचना जारी गरेपछि परीक्षा समितिको लापरबाही भेटिएको हो  ।

कर्णाली प्रतिष्ठानले गएको साउन ३० गते करार सेवाका लागि २५ जना नर्सिङ स्टाफको माग गर्दै सूचना खोलेको थियो । सोही अनुसार १ सय ६३ जनाले आवेदन दिएका थिए । जसमध्ये भदौ २६ गते लिइएको लिखित परीक्षाबाट सफल उम्मेदवार ५० जनाको नाम सार्वजनिक भयो ।

उक्त ५० जनाको सर्ट लिस्टमा सपना न्यौपाने नाम छैन । तर भदौ २९ गते पुनः प्रकाशित संशोधित सूचनामा भने (एसएन ०३९) सिम्बोल नम्बर सहित सपना न्यौपानेको नाम सर्ट लिस्टमा निकालिएको छ । यसअघि भदौ २६ गते प्रकाशित लिखित तर्फको सफल उम्मेदवारको ५० जना भित्र नपरेकी सपना न्यौपाने भदौ २९ गते प्रकाशित संशोधित सूचना अनुसार सर्ट लिष्टमा परेकी छन् । तर ५० जनाको लिस्टमा नपर्ने पछि संशोधन गरेर किन नाम निकालियो भन्ने आशङ्का भने फैलिएको छ ।