☰ open Loading... 26 December 2024|  

तरकारी खेतीमा रमाएका पौरखी कृषक
  | १ आश्विन २०७८, शुक्रबार ०६:००

रामपुर (पाल्पा) : अहो ! तरकारी खेती गर्दा गर्दै कति छिटो २६ वर्ष भइसकेछ, मलाई त हिजोआज जस्तै लाग्छ त ? एकराज गौतमलाई तरकारी खेतीमै आफ्नो समय बितेको पत्तो छैन । व्यवसायिकरुपमा तरकारी खेती गरेको समय गन्ती गर्दा जीवनको साढे दुई दशकको समय नाघिसक्यो । यस व्यवसायबाट सफलता पाउँदै गर्दा झन् व्यवसायमा मोह बढिरहेको छ ।

 

रामपुर नगरपालिका वडा नं ५ राङभाङ बस्ने गौतमलाई अझैपनि यो व्यवसायबाट टाढा रहन मन छैन । उनको परिवारको दरिलो आम्दानी नै तरकारी व्यवसाय बनेको छ । उनी भन्छन्, “तरकारी खेतीबाट राम्रो सफलता पाए, छोराछोरीको पढाई खर्च,  घरायसी खर्च राम्रो संग चलेको छ, निरन्तर लागि परेर काम गरियो भने फाइदा पनि राम्रै छ ।”

 

रोजगारको शिलशिलामा दुई दशक समय भारतमा बसोबास गरेका गौतमले गाउँ फर्के लगत्तै तरकारी खेती शुरु गरेका हुन् । उनले तरकारी खेतीबाट दाम मात्र नभई समाजमा राम्रो पहिचान बनाएका छन् । यसै व्यवसायबाट घरायसी खर्च, चार जना छोराछोरीको पढाई खर्च राम्रैसँग धानेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर वार्षिक रु छ लाख बराबरको कमाई गर्छन्, उनी । “जति कमाई गरेको छु, त्यसमा धेरै सन्तुष्ट छु, पाँच-सात रोपनी जति जग्गामा तरकारी हुन्छ, अन्य जग्गामा अन्नबाली लगाएको छु, यसमै आनन्दको जीवन जिउन पाएको छु” उनले हसिलो मुद्रामा भने । उनको घरमा बाह्रै महिना विभिन्न जातका तरकारी उत्पादन हुन्छ । घरबाटै धमाधम बिक्री हुने हुँदा व्यवसायमा झण्झट छैन । अहिले उनले टनेलभित्र लगाएको गोलभेंडाको उत्पादन शुरु हुँदैछ भने काउली बन्दा लगाउने तयारी गरेका छन् ।

 

तरकारी उत्पादन हुनु अगावै नै व्यापारीले अर्डर गर्ने हुँदा पनि व्यापारीलाई माग अनुसार पुर्‍याउन नसकिएको उनकी श्रीमती टिकीसरा गौतम बताउँछिन् । “तरकारीको फल लाग्न शुरु भएपछि टिप्नु भन्दा पाँच-सात दिन अघि नै व्यापारीले पहिल्यै माग गर्नुहुन्छ, उत्पादन गरेमात्रै भयो, कसरी तरकारी बेच्ने भन्ने पिरलो छैन” उनले भनिन् ।

 

शुरुका वर्ष डोकोमा बोकेर बजारमा तरकारी पुर्‍याउने गौतम दम्पती अहिले घरमै गाडी लिएर तरकारी खरिद गर्न व्यापारी आउँदा दंग छन् । श्रीमान श्रीमतीको दिनचर्या नै तरकारी लगाउने, गोडमेल गर्ने गर्दैमा बितेको छ ।

 

यस्तै रामपुर नगरपालिका वडा नं ४ देविस्थान बस्ने दिलबहादुर थापाले वैदेशिक रोजगारीको एक दशकको अनुभव पश्चात गाउँ फर्केर तरकारी व्यवसाय शुरु गरेका छन् । उनले तीन वर्ष अघि हाम्रो आधुनिक कृषि फार्म दर्ता गरी करिब दश रोपनी जग्गामा तरकारी व्यवसाय थालनी गरेका छन् । उनले तरकारी खेतीसँगै सयपत्री फूल खेतीलाई पनि जोड दिएका छन् । उनको फार्ममा हाल बोडी, सिमी लगायतका तरकारीको उत्पादन भइरहेको छ भने दशैं तिहार पर्वलाई लक्षित गरी काउली, बन्दा, सयपत्री फूल लगाएका छन् ।

 

“दश वर्ष सम्म बहराइन बसियो, विदेशको धेरै अनुभव भयो, त्यहाँको पिडा र व्यथा जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ, अहिले गाउँ फर्केर तरकारी लगाउन थालेपछि परिवारको साथमा खुशीसाथ जीवन बिताएको छु” थापाले भने । पत्थरिलो ईट्टा पारेर छाडिएको कहिल्यै प्रयोगमा नआउँने जग्गा भाडामा लिएर थापाले तरकारी व्यवसाय शुरु गरेका हुन् । अहिले त्यही पत्थरिलो जमिनमा हरियाली तरकारी फलेर लाखौँको आम्दानी होला भन्ने कसैलाई पत्यार लागेको थिएन । त्यही पत्थरिलो जमिनबाट वार्षिक हाल पाँच लाख आम्दानी हुने गरेको छ ।

 

समय अनुसारका तरकारी लगाउन प्रविधि नजान्दा समस्या परेको उनको अनुभव छ । स्थानीय सरकारले अनुदानका कार्यक्रम मात्र नभई कृषकलाई दीर्घकालीन समयसम्म टिक्ने प्रविधि दिएमा तरकारीबाट धेरै कमाउन सकिने थापा बताउँछन् ।

 

अब दश रोपनी जग्गा थप गरी २० रोपनीमा तरकारी लगाएर वार्षिक रु दश लाख कमाउने योजना रहेको अर्का सञ्चालक लालबहादुर थापा बताउँछन् ।

 

रामपुर नगरपालिकामा पछिल्लो समय व्यवसायीक तरकारी खेतीमा कृषक आकर्षित भएका छन् भने धेरै जना कृषकहरु व्यवसायउन्मुख बनेको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउँछन् । शाखा प्रमुख पाण्डेयका अनुसार रामपुर नगरपालिकाले व्यवसाय दर्ता गरेका वा समूहमा आवद्ध कृषकलाई उन्नत तथा वर्णाशंकर तरकारीको वीउ, तरकारी टनेल, विषादी छर्ने स्प्रेयर, मल्चीङ्ग, थोपा सिंचाई सेट, प्लाष्ट्रिक पोखरी सिट लगायतका कृषिजन्य सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

 

“केही कृषकले दीर्घकालीनरुपमा व्यवसाय गर्ने गरी सोही अनुसारको संरचना तयार पारी तरकारी खेतीमा लाग्नुभएको छ, व्यवसायउन्मुख हुँदै गरेका कृषकले पनि क्रमश : जग्गा विस्तार गरी व्यासायमा लाग्न थालेको पाइएको छ, कार्यालयमा तरकारी खेती गर्न ईच्छुक कृषक बेला बेलामा परामर्श लिन आउने गर्नुहुन्छ” शाखा प्रमुख पाण्डेयले मध्यान्हसँग भने ।

 

नगरपालिकाले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने ठूला व्यासायीक कृषकलाई प्रस्तावनामा आधारित नगद अनुदान समेत दिँदै आएको छ । कृषि शाखाबाट कृषकलाई वातावरणमैत्री, जैविक विषादी उपलब्ध, प्राबिधिक ज्ञानको लागि स्थलगत घुम्ती तालिम कृषकका खेतबारीमै सञ्चालन गरिँदै आएको छ ।

 

खेतबारी खनजोतका लागि हाते ट्याक्टर जस्ता साना कृषि औजार तथा उपकरण अनुदानमा उपलब्ध गराइएको छ । कृषि शाखाको सहयोगमा विभिन्न कृषि सामग्री तथा वीउ विजन, तालिम, प्राबिधिक ज्ञान सीप पाएपछि यहाँका कृषक मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेका छन् ।