☰ open Loading... 6 March 2025|  

जंगलमा फिरन्ते जीवन बिताउदै आएका १८ राउटेको मृत्यु
  | ५ आश्विन २०७८, मंगलवार ०५:०८

गत वर्ष मङ्सिरदेखि यता १८ राउटेको मृत्यु भइसकेको छ । पछिल्लो समय मयो शाही, दलबहादुर शाही, मानसिं शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको जनाइएको छ । अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ। एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको बताइएको छ । यकिन तथ्याङ्क नभए पनि राउटेहरु बर्सेनि घट्दो सङ्ख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ ।

प्राणीशास्त्रीसमेत रहनुभएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले राउटे वंशको सुरक्षा महत्वपूर्ण सवालका रुपमा रहेको बताउनुभयो । “राउटे संस्कार, संस्कृति संरक्षण गर्न नसके अस्तित्व हराउन धेरै वर्ष पर्खनुपर्दैन”, उहाँले भन्नुभयो, “राउटे वंश, संस्कृति, बेग्लै भाषा भएको दुर्लभ मानव जाति लोपोन्मुख अवस्थामा पुग्नु दुर्भाग्य हो ।” आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो–छिटो बसाइँ सर्नुपर्ने बाध्यतामा छ । पछिल्लो एक महिनामै उनीहरु सात स्थानमा बसाइँ सरिसकेका छन् ।