☰ open Loading... 17 November 2024|  

सडक हिलाम्मे हुँदा आवतजावतमा सास्ती
  | ६ आश्विन २०७८, बुधबार ०५:०४

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाका हिलाम्य सडक अझै सुधार हुन सकेका छैनन् । स्थानीय सरकार सञ्चालनको ४ वर्ष बितिसक्दा पनि जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका भित्रका हिलाम्य सडक अझै सुधार हुन नसकेका हुन् ।

नेपाल टेलिकम हुँदै सिंगाचौर जाने सडक,पत्रकार महासङ्घ हुँदै सिंगाचौर जाने सडक टेलिकम अगाडी विजयनगर हुँदै बसर्पाक जाने सडक, लगायत चन्दननाथका दर्जनौ भित्री सडक वर्षौँदेखि हिलाम्य छन् ।

चन्दननाथ ८,९,१० नम्बर वडाका गाउँ पुग्ने सडक पनि हिलाम्य नै छन् । नगरपालिका भित्रकै कर्णाली भनेर चिनिने वडा नंं. ८ मा सञ्चार,विद्युत् तथा सडकको विकास अझै हुन सकेको छैन । गाउँमा पुगेका तथा सदरमुकाम भित्रका कच्ची सडक सुधार तथा स्तरबृद्धिमा नगरपालिकाको ध्यान नपुग्दा स्थानीयले सास्ती पाएका छन् ।

चन्दननाथ नगरपालिका ४ का स्थानीय पेमा लामा भन्नुहुन्छ,‘न त राम्रो सडक, न नियमित पानी आउने । हिलाम्य सडक आवतजावतमा मुस्किल छ । जनप्रतिनिधिको कार्यकाल सकिन लागिसक्यो सडक सुधार हुने टुङ्गो छैन, नगरपालिकालाई कर तिर्न पनि मन लाग्दैन ।’

पत्रकार महासङ्घ हुँदै भित्र जाने सडकमा घर भएका लामा चन्दननाथका भित्री सडकमा हिउँदमा धुलो र वर्षामा हिलोले सास्ती खप्नुपरेको बताउनुहुन्छ । केही दिन यता नियमित वर्षा भएपछि नगरपालिका आधा दर्जन भित्री सडक हिलाम्य छन् ।

टेलिकम अगाडीको सडक कालोपत्रे गरेको एक वर्ष नबित्दै हिलोले पुरिएको छ । नगरपालिकाले नाली व्यवस्थापनदेखि हिलाम्य सडकलाई आरसिसीसम्म गर्न सकेको छैन । जसका कारण हिलाम्य सडकबाट आउने हिलोले कालोपत्रे पुरिएको हो ।

गाउँ गाउँका सडक आरसिसी भइसक्दा समेत स्मार्ट सिटी बनाउने सपना बाँडिएको नगरपालिका भित्री सडक हिलाम्य हुनु दुखद पक्ष भएको नागरिक अगुवा राज बहादुर महतको भनाई छ । सडक,बत्ती,खानेपानी जस्ता आधारभूत विकासमा नगरपालिकाको ध्यान जानु पर्नेमा त्यसो हुन नसकेको महतले बताउनुभयो ।

चन्दननाथ ६ का वडाध्यक्ष अज बहादुर रावलले विजयनगर र पत्रकार महासङ्घ हुँदै एमाले पार्टी कार्यालयसम्मको सडक स्तरबृद्धि गर्न गत वर्ष नै ठेक्का भएको बताउनुभयो । तर पनि नगरपालिकाकै ढिलासुस्ती, निर्माण व्यवसायीलाई ताकेता नदिएकै कारण ढिलाइ भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘टेन्डर भएको १ वर्ष भयो । काम भएको छैन । कार्यान्वयन तहमा हामी नहुँदा काम गर्न गाह्रो छ । किन ढिलाइ भयो बुझ्नै पर्छ ।’

यता चन्दननाथ नगरपालिकाका इन्जिनियर लोकेन्द्र महतले विजयनगर पत्रकार महासङ्घदेखि भित्रको सडक चाडै स्तरबृद्धि हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘विजयनगरमा एक साइट नाला र अर्को साइटमा क्यारी निर्माण हुने छन् ।’ उहाँले थप्नुभयो,‘पत्रकार महासङ्घ भित्रको सडक आरसिसी हुदैछ ।’ इन्जिनियर महतले गत वर्ष करिब ४० लाखमा टेन्डर भएपनि लकडाउन र वर्षातले काम रोकिएकाले तत्काल काम सुरु गर्न पत्रचार गरिएसँगै छिटै हिलाम्य सडक सुधार गरिने बताउनुभयो ।