जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्लाको भौतिक प्रगति ९४ प्रतिशत भएको छ । गत आर्थिक २०७७÷०७८ मा कोरोना कहर, निर्माण व्यवसायीको ढिलासुस्तीका बीच पनि कार्यालयको सक्रियताले पूर्वाधार विकासमा उल्लेख्य रुपमा ९४ प्रतिशत भौतिक प्रगति भएको हो ।
जिल्लाका सबै विकासे कार्यालयभन्दा पूर्वाधार कार्यालयको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक भएको पाइएको छ । भौतिक प्रगतितर्फ गत आवमा मात्रै पूर्वाधार कार्यालयले ७६ किमी नयाँ ट्र्याक सडक निर्माण गरेको छ । अन्तर जिल्लादेखि विभिन्न गाउँ जोड्ने ७६ किमी नयाँ ट्र्याक सडक निर्माण भएको छ । जसमा कार्यालयको नियमित कार्यक्रम अन्तर्गत ९ किमी र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ६७ किमी गरी जम्मा ७६ किमी नयाँ ट्र्याक सडक निर्माण भएको पूर्वाधार कार्यालय जुम्लाका प्रमुख रूपक रावलले बताए ।
उनका अनुसार गत आवमा सडक स्तरबृद्धि तथा चौडा ३७ किमी, ड्रेन निर्माण १९ किमी, ग्राभेल ९ किमी भएको छ । त्यस्तै, त्रिवेणीमा कर्णाली प्रदेशकै पहिलो उच्च प्रविधिको पक्की पुल, चिउडी र मसान डाँडामा झोलुङ्गे पुल, तथा २ सय ५० जनता आवासका घर निर्माण भएको प्रमुख रावलको भनाई छ ।
पूर्वाधार विकास कार्यालयका प्राविधिक अधिकृत तथा सूचना अधिकारी टेक बहादुर हितानका अनुसार नयाँ ट्र्याक सडक निर्माण अन्तर्गत ताचोपानीको टोल्पा हुँदै इमिल्छासम्म ३५ सय मिटर, तिलाको रासाहुँदै मालापानी ३५ सय मिटर, सिञ्जाको गेरा हुँदै भाडगाउँ २ किमी र कनकासुन्दीको जलजला हुँदै छाला चौरसम्म साढे ४ किमी लगायत ७६ किमी नयाँ सडक निर्माण भएको छ।