
हिलाम्मे बनेको सल्ली–चौरजहारी सडकमा फसेको बसलाई डोरी लगाई तान्दै यात्रु। तस्बिर : विप्लव/कान्तिपुर
कालीमाटी– दम्दबाली सडकखण्डको झन्डै २० ठाउँमा पहिरो खसेको कालिमाटी गाउँपालिका–५ का नोखिराम बस्नेतले बताए । ‘अब त गाडी चढ्नै डर लाग्न थाल्यो,’ उनले भने, ‘हिँड्दाहिँड्दै पहिरोले गाडी पुर्ने हो कि भन्ने डर हुन्छ ।’ उनका अनुसार दम्दबालीबाट सुर्खेत र सदरमुकाम खलंगा जाने सडकको पनि अवस्था नाजुक भएको बताए । ‘सुर्खेत र खलंगा जाँदा फसेको ठाउँमा गाडी धकेल्दै यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘गाडी चिप्लिएर दुर्घटना हुने जोखिम पनि उत्तिकै हुन्छ ।’
हिलाम्मे सडकका कारण गाडी गन्तव्यमा नपुग्दासम्म डरैडरमा यात्रा गर्नुपर्ने बाध्यता भएको कुमाख गाउँपालिकास्थित स्यानिपिप्लीका दयाराम बोहराले बताए । ‘बरु पैदलै यात्राको भर छ,’ उनले भने, ‘गाडी चढे पनि ठाउँठाउँमा धकेल्दै यात्रा गर्नुपर्ने बाध्यता हुन्छ ।’ उनका अनुसार हिलोका कारण गन्तव्यमा पुग्दासम्म यात्रुले लगाएका कपडा कामै नलाग्ने हुन्छन् ।
हिउँदमा डेढ घण्टामै पुगिने सल्लीबजार–चौरजहारी सडकको यात्रा ४/५ घण्टामा लम्बिएको उनले बताए । बर्सेनि सल्ली–चौरजहारी सडक स्तरोन्नतिका लागि करोडौं रकम खर्च हुने गरे पनि गुणस्तरीय काम नहुँदा यात्रुले सधैं दुःख पाइरहेको उनको भनाइ छ । बाग्चौर नगरपालिकाको पातिहाल्नादेखि खलंगा पुग्ने सडकको पनि हालत उस्तै छ । सडकमा गाडी चल्न लागेकाो झन्डै १५ वर्ष बिते पनि नाली नहुँदा सडक ठाउँठाउँमा चिरा परेको छ । पहिरो र खाल्डाखुल्डीका कारण पनि यात्रा जोखिमपूर्ण बनेको स्थानीय शेरबहादुर रोकाले बताए । ‘सडककै कारण बिरामीले बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘ठूला गाडीको के कुरा मोटरसाइकल पनि धकेल्दै गुडाउनुपर्छ ।’