☰ open Loading... 5 December 2024|  

सुर्खेतको ‘नमूना समाज’को आर्थिक हिनामिनामा स्थानीय तह पनि तानियो
  | ७ आश्विन २०७८, बिहीबार १८:४४

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘नमूना समाज’ नामक संस्थालाई दिएको दिएको रकमबारे स्थानीय तहमाथि पनि अनुसन्धान थालेको छ । विभिन्न जनचेतनामूलक कार्यक्रमका लागि स्थानीय तहसँग सम्झौता गरी समाजले करोडौं रकम लिएको थियो । तर, समाजले काम नगरी रकम हिनामिना गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

समाजले रकम हिनामिना गरेको विषयमा परेको उजुरी गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयहुँदै जिल्ला प्रहरी कार्यालय सुर्खेतसम्म आइपुगेको हो ।

उजुरी आएसँग जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धानलाई तीव्र पारेको छ भने संस्थाका अध्यक्षसहित १६ जनालाई पक्राउ गर्न आवश्यक तयारी गरिरहेको छ ।

नमूना समाजले सुर्खेतका विभिन्न स्थानीय तहसँग ‘उद्यमशीलता साझेदारी’ कार्यक्रम सञ्चालन गर्ने भन्दै पछिल्लो तीन वर्षको अवधिमा दुई करोड बढी रुपैयाँ लिएको छ ।

संस्थाका अध्यक्ष भूमिसरा पुलामीसहित नौजना पदाधिकारी र संस्थाका कार्यकारी निर्देशक लालबहादुर जिएमसहित सातजना कर्मचारीलाई पक्राउ गरेर कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई निर्देशन दिइएको छ । त्यसबारेमा जनप्रतिनिधिसमेतलाई बुझ्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

समाजले विभिन्न स्थानीय पालिकाहरुबाट २५ लाखदेखि ३५ लाख रुपैयाँ गरी तीन वर्षमा दुई करोड बढी रकम उठाएको पाइएको छ ।

सुर्खेतका गुर्भाकोट नगरपालिका, चिंगाड गाउँपालिका र सिम्ता गाउँपालिकाले संस्थाविरुद्ध उजुरी दिएका थिए ।

प्रशासन कार्यालयमा प्राप्त विवरणमा नमूना समाजले एक आर्थिक वर्षमा चिंगाड गाउँपालिकाबाट १२ लाख, गुर्भाकोट नगरपालिकाबाट २५ लाख, सिम्ता गाउँपालिकाबाट १८ लाख, पञ्चपुरी नगरपालिकाबाट २० लाख र भेरीगंगा नगरपालिकाबाट ३० लाख रुपैयाँ लिएको पाइएको छ।

सिंगापुर, अष्ट्रेलिया, अमेरिका, स्वीजरल्याण्ड, जापानलगायतका विकसित देशमा लागू भएको परियोजनालाई आफूले नेपालमा भित्र्याएको बताउँदै नमूना समाजले स्थानीय तहहरुसँग तीन वर्षे संझौता गरेको थियो । सम्झौताअनुसार स्थानीय तहहरुले ३० प्रतिशत र नमूना समाजले ७० प्रतिशत रकम व्यहोर्ने उल्लेख छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकाले नमूना गाउँ निर्माणका लागि समाजसँग २०७७ भदौ २३ गते संझौता गरेको थियो । कार्यक्रमअन्र्तगत तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमूना समाजले दुई करोड १० लाख रुपैयाँ व्यहोर्ने उल्लेख छ ।

भदौ २३ गते संझौता गरेर मंसिर २४ गते कार्यादेश दिएको नगरपालिकाले पुस २ गते पहिलो वर्षको ३० लाख रुपैयाँ एकमुष्ट नमूना समाजलाई उपलब्ध गराएको थियो ।

रकम उपलब्ध भएपछि संस्थाले काम गर्न नसकेका कारण जनप्रतिनिधिको चर्को आलोचना भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत कनक शाहीले कारबाहीको आवश्यक प्रक्रिया सुरु भइसकेको बताए ।नेपाल प्रेसबाट