☰ open Loading... 16 November 2024|  

स्थानीय तहलाई १९ लाखको स्वास्थ्य सामाग्री प्रदान
  | १२ आश्विन २०७८, मंगलवार ०५:२१

 

जुम्ला । दातृ संस्था प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपालको साँझदारीमा जुम्लाका स्थानीय तहलाई १९ लाख बढीको स्वास्थ्य सामाग्री दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति मार्फत यहाँका स्थानीय सामाग्री स्वास्थ्य सामाग्री प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

कोभिड–१९ रोकथाम, न्यूनीकरण र प्रतिकार्यका लागि स्थानीय तह र जिल्लामा सञ्चालित आइसोलेसन केन्द्र र अस्पताललाई प्रशासन मार्फत स्वास्थ्य सामाग्री प्रदान गरिएको पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारीदिए ।

उनका अनुसार स्थानीय तह, आइसोलेसन केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरेर १४ प्रकारका स्वास्थ्य सामाग्री दिइएको हो । अक्सिजन सिलिण्डर, मास्क, स्यानिटाइजर, पिपिइ लगायतका विभिन्न १४ प्रकारका गरी करिब १९ लाख १५ हजार ७ सय ७८ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री दिइएको हो ।

जसमा पाँच लिटरको अक्सिजन कन्सनट्रेटर ७ पिस, सर्जिकल मास्क ४६ हजार ६ सय १० पिस, ५ सय एमएलको हेण्ड स्यानिटाइजर ६ सय ३० बोतल, फुल पिपिइ सेट ४ सय ३८ पिस, २ सय एमएलको हेण्ड वास लिक्विड २ सय ५५ पिस, सर्जिकल ग्लोभ्स १२ पिस, ग्लोभ्स पेयर १ हजार १ सय, एन नाइन्टी फाइभ मास्क २ सय ५० पिस लगायत १४ प्रकारका कोभिड प्रतिकार्य सामाग्री दिइएको छ

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईँ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा।राजीव शाह,पेस नेपालका अध्यक्ष किशोर न्यौपानेको उपस्थितिमा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले आइसोलेसन केन्द्र, कोभिड अस्पताल स्वास्थ्य सामाग्रीको सही सदुपयोग गरेर मात्रै कोरोना संक्रमण कम गर्न सकिने बताए ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रर्साइले कोभिड सङ्कटको बेला दाताले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो । उहाँका अनुसार कोभिड रोकथामका लागि आगामी दिनमा पनि सधैँ सहयोगको अपेक्षा गरिएको छ ।

कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डा।राजीव शाहले जुम्लाको कोभिड रोकथाममा दातृ निकायको सहयोगले ठुलो राहत गरेको बताउनुभयो । संक्रमण अझै अन्त्य नभएकोले सबै सचेत हुनु पर्ने र सरकारी तथा गैरसरकारी निकाय कोभिड केन्द्रित हुनुपर्ने अस्पताल निर्देशक डा। शाहको भनाई छ ।