काठमाण्डाै – नेपाली कांग्रेसले ५४ जिल्लामा गाउँ/नगर अधिवेशन सकिँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
हिजो बेलुकासम्म ३ सय १४ पालिकाको नतिजा आउँदा १ सय ६४ मा नेता कृष्णप्रसाद सिटौलासहित सभापति देउवा समूहका सभापति चुनिएका छन् भने १ सय ४३ मा पौडेल समूहका नेता सभापतिमा चुनिएका छन् ।
सात वटा पालिकामा भने कुन समूह विजयी भएको भन्नेबारे खुल्न बाँकी छ । वडा अधिवेशन भएका ६४ जिल्लामध्ये १० जिल्लामा पालिका अधिवेशन हुन बाँकी छ । आ-आफ्नाे प्रदेशमा देउवा र पौडेल समूह दुवैको वर्चस्व देखिएको छ ।
सुदूरपश्चिममा चुनाव भएका ६५ पालिकामध्ये झण्डै ५० पालिकामा देउवा समूह निर्वाचित भएको छ । सुदूरपश्चिम देउवाको गृह प्रदेश हो । यस्तै, पौडेलको गृह प्रदेश गण्डकीमा ८५ पालिकामा चुनाव भएकोमा ६७ वटाको नतिजा आएको छ । तीमध्ये ४० पालिकामा पौडेल र २३ पालिकामा देउवा समूहका उम्मेदवार चुनिएका छन् ।
कांग्रेसले पहाड र तराईका जिल्लामा दशैँअघिसम्म अधिवेशन गरिसक्ने तयारी गरेको छ । हिमाली जिल्लामा दशैँ अगावै जिल्ला तहसम्मकै अधिवेशन गरिसक्ने कांग्रेसले जनाएको छ । कांग्रेसमा क्रियाशील सदस्यताबारे अब ८ जिल्लामा विवाद टुङ्ग्याउन बाँकी छ ।
निर्वाचन समितिका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा विवाद छ । कांग्रेसको महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म गर्ने कार्यतालिका छ ।