☰ open Loading... 26 December 2024|  

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट
  | १३ आश्विन २०७८, बुधबार ०५:१७

जाजरकोट । जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिँदैछ । स्वास्थ्य कार्यालयले ७५ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट खरिद गरेर जडान गरिरहेको अस्पताल विकास समितिकी अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिइन् ।

प्लान्ट स्थापनापछि जाजरकोटबाट अक्सिजन भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ । अघिल्लो पटक भएको बोलपत्र आह्वानमा ठेकेदारले ठेक्का लिए पनि प्लान्ट खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । जिल्ला अस्पताललाई ५० शय्याका रुपमा विकाससँगै नयाँ प्राविधि थप्ने क्रम जारीे छ ।

शय्या थपसँगै नयाँ भवन पनि निर्माणाधीन रहेको बस्नेतको भनाइ छ । भवनमा समेत अर्को अक्सिजन प्लान्ट राख्ने डिजाइनमै भएकाले जिल्लामा अब दुईवटा प्लान्ट हुने जनाइएको छ ।

अहिले जडान भइरहेको प्लान्टबाट प्रतिदिन ४० लिटरका ४५ सिलिन्डर भर्न सकिने कार्यालय प्रमुख टीकाराम जैसीले बताए । यहाँ जडान गरिएको प्लान्टले छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिमका केही भागलाई समेत सहयोग पुग्ने जनाइएको छ ।रासस