☰ open Loading... 26 December 2024|  

चाडपर्वमा सहुलियत दिने तयारी
  | १३ आश्विन २०७८, बुधबार १९:२४

सुर्खेत -दशैं, तिहार, छठजस्ता नेपालीका ठूला चाडपर्वहरुलाई लक्षित गरी सुर्खेतका व्यापारीहरुले सहुलियतको तयारी गरेका छन् । सुर्खेत उद्योग बाणिज्य संघले बुधवार विभिन्न वस्तुगत समितिहरुलाई बोलाएर छलफल गरेपछि सहुलियतको तयारी गरिएको हो ।
दशैंमा बढी खपत हुने खाद्यान्न, नुन, तेल, तरकारी, फेन्सी कपडा, फलफूल तथा माछामासुमा सक्ने गरी सहुलियत दिन संघले आग्रह गरेको छ । यस्तै अन्य पसलहरुले पनि उपभोक्तालाई राहत पुग्ने गरी आफ्नो क्षमता अनुसारको सहुलियत दिन भनिएको छ । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले चाडपर्वमा उपभोक्तालाई ध्यानमा दिएर सक्ने जति छुटको व्यवस्था मिलाउन आव्हान गरिएको बताए ।
छलफलमा सहभागी विभिन्न बस्तुगत उपसमितिका पदाधिकारीहरुले आफूहरुले सक्ने जति सहुलियत दिने प्रतिवद्धता जनाएका छन् । साथै उनीहरुले तरकारी बोकेका गाडीहरुलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने, विक्री नभएका सामानहरु फिर्ता नलिने जस्ता गुनासो समाधान गर्न संघलाई आग्रह गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयका दुर्गाप्रसाद आचार्यले म्याद नाघेका बस्तुहरु नबेच्न, कागजातहरु चुस्तदुरुस्त राख्न व्यापारीहरुलाई सुझाव दिए । प्रशासनले जुनसुकै बेला पनि अनुगमन गर्ने हुँदा व्यापारीहरुले आफ्ना सामानहरुको हरहिसावलगायत चुस्त राख्न आग्रह गरे । उपभोक्ता अधिकार मंचका अध्यक्ष आकाशतारा बयकले उपभोक्तालाई सेवाको भावनाले चाडपर्वमा सहुलियत दिन अपिल गरे ।
छलफलमा संघका बाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकाल, सचिव रामप्रसाद पाण्डे, संघका सल्लाहकार एवं पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, मासु व्यवसायी संघका अध्यक्ष टोपेन्द्र शाही, औषधि व्यवसायी संघका अध्यक्ष रणबहादुर खड्का, पूर्व प्रेमबहादुर भण्डारीलगायतले विभिन्न सुझाव दिएका थिए ।
यसैवीच संघले उपभोक्ताले देखिने गरी मूल्य सूची टाँस गर्न, आफ्ना किलाकाँटाहरु जाँच तथा नवीकरण गर्न, म्याद नाघेका बस्तुहरु हटाउन र सक्ने जति सहुलियत उपलव्ध गराउन आग्रह गरेको छ ।