☰ open Loading... 16 November 2024|  

बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु हुँदै
  | १४ आश्विन २०७८, बिहीबार ०५:०८

 

सुर्खेत । सिम्रिक एयर प्रालिले सुर्खेत–बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै प्रालिले आउँदै गरेको ९घटस्थापना० असोज २१ गतेदेखि सुर्खेत बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु गर्न लागेको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई बेस क्याम्प बनाएर हेलिकप्टर सेवा सुरु गरेको प्रालिले सुर्खेत–बडीमालिका दर्शन उडान सुरु गर्न लागेको प्रालिका बजार विभाग प्रमुख योगेश सापकोटाले जानकारी दिए ।

उहाँले पश्चिम क्षेत्रका नागरिकको आवश्यकता र मागलाई मध्यनजर गर्दै चाडपर्व लक्षित होलिडे हेलिकोप्टर सेवा सुरु गर्न लागिएको जनाउनुभयो ।

“सुर्खेत विमानस्थलबाट बढीमालिका पुग्न करिब ४५ मिनेट लाग्ने गर्दछ,’ उहाँले भन्नुभयो, ‘पाँच जना चढ्न मिल्ने हेलिकोप्टरको दुईतर्फी ९आवतजावत० प्रति उडान दुई लाख ५० हजार रुपैयाँ मात्र भाडा निर्धारण गरिएको छ ।”

उहाँले चाडपर्व बिदालाई उपयोगी बनाउन चाहने नागरिकका लागि सुर्खेत–बडीमालिका दर्शनसँगै हिमशिखरहरूको समेत अवलोकन गर्न पाउने बताए ।

सुदूरपश्चिम र कर्णाली प्रदेश भित्र रहेका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले सस्तोमा सुर्खेत–बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु गरिएको हो ।