☰ open Loading... 16 November 2024|  

हेलिकोप्टरबाट ढुवानी इन्धनले विकास निर्माण
  | १४ आश्विन २०७८, बिहीबार ०५:१९

सिमकोट : जिल्लाका निर्माण तथा यातायात व्यवसायी महँगोमा हेलिकोप्टरबाट इन्धन ढुवानी गरेर विकास निर्माण गर्न  बाध्यता आएको छ ।  पैदल मार्गबाट खच्चडमा नआउने र बजारमा नपाइने भएपछि व्यवसायीले बढी ढुवानी दर तिरेर भएपनि इन्धन ओसार्न बाध्य हुँदै आएका हुन् ।

निर्माण व्यवसायी गणेश महतका अनुसार माथिल्लो हुम्लाका तीन वटा गाउँपालिकामा विकास निर्माण गर्न र यातायात सञ्चालन गर्न इन्धनको अभाव देखिएपछि हेलिकोप्टरबाटै ओसार्न थालिएको हो । उनले मुगुको ताल्चा विमानस्थलबाट हेलिकोप्टरमा प्रतिकेजी २५५ रुपियाँ तिरेर ढुवानी गरि रहेको जानकारी दिए ।

यसअघि पैदल मार्गबाट खच्चडमा ढुवानी भएर आएको इन्धनको मुल्य प्रतिलिटर २१० रुपियाँदेखि २२० मा खरिद गर्न पाईने भएपनि मौसम तथा ढुवानी गर्ने खच्चड नपाउने समस्याको कारण महँगै भएपनि हेलिकोप्टरबाट ढुवानी गर्न बाध्य भएका हुन ।

जिल्लाका सबै निर्माण तथा यातायात व्यवसायी मिलेर असी ब्यारेल इन्धन ढुवानी गरेका हुन् । सिम्रिक एयरको हेलिकोप्टरले एक उडानमा चार ब्यारेलसम्म बोक्न सक्ने भएको कारण बीस उडन ताल्चाबाट सिमकोट ढुवानी भइरहेको हो ।

त्यसपछि पनि अरु असी ब्यारेल इन्धन ल्याउने तयारी भइरहेको व्यवसायीयले बताएका छन् । जिम्माको काम समयमै सञ्चालन गर्न र भएका यातायातका साधन सुचारु राख्न हेलिकोप्टरले भनेकै भाडादरमा ढुवानी गर्नु परेको व्यवसायीको भनाइ छ । सुर्खेतमा खरिद गरेको इन्धन मुगुको ताल्चा विमानस्थसम्म गाडीमा ढुवानी हुने गरेको छ ।