रुकुम पश्चिम — नेपाल वायु सेवा निगमका मात्रै जहाजले उडान भर्ने मुसीकोट नगरपालिका–१ सल्ले विमानस्थलमा निजी एयरलाइन्सले उडान भर्न थालेपछि नेपालगन्ज र काठमाडौ आउजाउ गर्ने यात्रुलाई सुविधा भएको छ । यसअघि सातमा मुस्किलले एउटा मात्रै उडान हुने विमानस्थलमा यात्रुले चाहेकै बेला जहाज चढ्ने सुविधा पाएका छन् ।
सल्ले विमानस्थलमा नेपाल एयरलाइन्ससहित यति र समिट एयरले उडान भर्न थालेका छन् । अहिले सल्ले विमानस्थल मंगलबार र शनिबार मात्रै खाली रहन्छ । हप्ताको ५ दिन उडान भइरहेको छ । कहिलेकाहीँ त सातामा सातै दिन उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल एयरलाइन्सले सातामा ३ दिन उडान भरिहेको छ भने यति र समिटले २ दिन फ्लाइट गरिरहेका छन् ।
‘एउटा समय थियो, जतिबेला टिकटका लागि एक महिनादेखि लबिइङ गर्नुपर्दथ्यो,’ मुसीकोटका मिलन केसीले भने ‘अब भने धेरै सजिलो भइसक्यो ।’ अहिले बिरामीले चाहेकै समयमा जहाज भेटाइरहेको उनले जानकारी दिए । अहिले नेपाल एयरलाइन्सले आइतबार काठमाडौं–सल्ले–नेपालगन्ज र सोमबार नेपालगन्ज–सल्ले–काठमाडौं उडान भरिरहेको छ ।
त्यस्तै, बिहीबार नेपालगन्ज–सल्ले–काठमाडौं उडान भर्दै आएको एयरलाइन्सले जनाएको छ । समिट एयरले सातामा दुई दिन आइतबार र बुधबार उडान भर्दै आएको छ । आइतबार नेपालगन्ज–सल्ले–काठमाडौं र बुधबार काठमाडौं–सल्ले–काठमाडौं उडान भर्ने गरेको एयरलाइन्सले जनाएको छ । यति एयरले बुधबार र शुक्रबार उडान भरिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।