☰ open Loading... 19 April 2024|  

१२ करोडको आलु उत्पादन
  | २१ आश्विन २०७८, बिहीबार ०५:३२

सल्यान । सल्यानको बाफुखोलाका किसानले आलु खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । आलु खेती गरेरै जिल्लाको बागचौर नगरपालिका–११ र १२ का किसानले यो वर्ष १२ करोडको आलु उत्पादन गरेका हुन ।

कृषि विकास कार्यालय सल्यानका अनुसार वाफुखोलामा २ हजार रोपनीमा आलु खेती हुँदै आइरहेको छ । वाफुखोलाबाट मात्र यस वर्ष १२ करोड रुपैयाँको आलु बाहिर गएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।

आलु खेती गरेर नै यहाँका किसानको जीवनयापन चलिरहेको किसान चित्र बहादुर ओलीले बताए । यस वर्ष ४५ क्विन्टल आलु बिक्री गरेर १ लाख ४५ हजार आम्दानी गरेको उनको भनाई छ । आलु लगाएको समयमा सुख्खा र खन्ने समयमा लगातार पानी पर्दा यो वर्ष उत्पादन भने धेरै घटेको ओलीको भनाई छ ।

विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँमा मजदुरीका लागि जाने किसान अहिले आलु खेतीमा रमाइरहेको अर्का किसान शेर बहादुर खत्रीले बताए । आलु खेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन आएको उनको भनाई छ । यो वर्ष आफूले ५० हजारको आलु बिक्री गरेको उनले बताए ।

आलु उत्पादनबाट गाउँमा वर्षेनी १० देखि १५ करोड भित्रिने गरे पनि सुरक्षित भण्डारको व्यवस्था नहुँदा किसान समस्यामा परेको वडा न १२ का वडाध्यक्ष दीपक वलीले बताए ।