वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गको राकमकर्णाली–जितेगडा खण्डको दुई स्थानमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले दैलेखको घट्टे खोला र खिड्कीज्यूलामा पहिरो गएको जनाएको छ। पहिरो गएपछि विहानैदेखी राजमार्ग अवरुद्ध भएपछि सुर्खेततर्फ आउने सवारीहरु रोकिएका छन। सडक सुचारु गर्न सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै तिला नदीमा आएको बाढीले पानी घट्ट र झोलुङ्गे पुल बगाएको छ। तातोपानी गाउँपालिका ८ टोप्ला घट्टेखोलामा रहेको घट्टेखोला लघु जलविद्युतको पावर हाउस नजिकै पानी घट्ट र पुल बाढीले बगाएको हो। वर्षासँगैको पहिराका कारण मुगु र दैलेख जाने सडक अवरुद्ध भएको छ। नाग्म–गमगढी सडक खण्डको जुम्लास्थित हिमा गाउँपालिका–१ बड्कीमा पहिरो गएपछि मुगु सडक अवरुद्धको भएको हो। बड्कीमा सडकभन्दा २० मिटर माथिबाट पहिरो खसेको छ।