सिमकोट- सधै धुलो उठ्ने र पानी परेका बेला हिलो हुने खेल मैदानमा फुटबल सिकेका हुम्लाका महिला खेलाडी काठमाडौं पुगेपछि घाँसे मैदानमा अभ्यास गरिरहेका छन् । उपमेयर कपको प्रतियोगितामा आफ्नो समूहको टिमसँग प्रतिस्पर्धा गर्नका लागि उनीहरु अभ्यास गरिरहेका हुन् ।
काठमाडौंमा सुरु भइरहेको राष्ट्रिय स्तरको उपमेयर कप फुटबल प्रतियोगितामा हुम्लाको सिमकोट गाउँपालिकाको महिला फुटबल टोली यतिखेर ललितपुरस्थित एक घाँसे मैदानको फुटबल ग्राउण्डमा अभ्यास गरिरहेको छन् । सधै धुलो उठ्ने र हिलाम्मे सिमकोटको मैदानमा खेली रहेका खेलाडीहरुलाई केही असजिलो पनि हुने गरेको छ ।
सो मैदान ललितपुरको लिटिल एन्जल्स विद्यालयले उपलब्ध गराएको छ । प्रतियोगितामा भाग लिन आएकी खेलाडी दिपा रावतले यसरी सधैं खेल्न पाएको भए हुम्लाको फुटबल अगाडी बढाउन समस्या नहुने बताइन् । डराई डराई फुटबल खेल्नु परेको बताउँदै अहिले भने आफ्नो पहिलो खेलको प्रतिस्पर्धासँग कडा रुपमा प्रस्तुत हुने उद्घोष गरिन् ।
हुम्लाको टिममा पहिलो खेल इलामको गोङ गाउँपालिकासँग खेल हुँदैछ । सबै खेलाडीहरु जित्ने भनेर अभ्यास खेलमा जुटेका छन् । उनले पक्कै पनि केही फरक अनुभव भएको भएपनि कलिला खेलाडीले आफ्नो भएको क्षेमता देखाउने बताइन् । हुम्लाको खेल कात्तिक नौ गते इलाम र ११ गते काठमाडौंसँग हुँदैछ ।