☰ open Loading... 14 January 2025|  

चाडपर्वमा यात्रुको बिचल्ली, भाडा दोब्बर असुल्दै सवारी
  | ९ कार्तिक २०७८, मंगलवार ०५:४६

खलंगा । जाजरकोटका गाम्रीण सडकमा चल्ने सवारी साधनहरुले मनपरी भाडा असुल्दा सर्वसाधारण मर्काका परेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले निर्माण गरेका सडक खण्डहरुमा निजी यातायातहरुले चर्काे भाडा लिएपछि स्थानीय मर्कामा परेका हुन् । स्थानीय तहले निर्माण गरेका नयाँ सडकमा रुटपरमिट समेत लागु गरिएको छैन ।

प्रशासनले तोकेको भन्दा बाहिर रहेर मनपरी भाडा असुल्दै आएको यात्रुहरुले गुनासो गरेका छन् । ‘यात्रुहरु बाट मनपरी भाडा असुलिन्छ, आरामदायी यात्रा हुदैन्, क्षमता भन्दा दोब्बर यात्रु राखेर सवारी साधन चलाईन्छ, कसरी हुन्छ सुरक्षित यात्रा ?’ बारेकोट गाउँपालिका २ का स्थानीय भीमबहादुर नेपालीले गुनासो गरे ।

भीमबहादुर मात्र होइन् उनी जस्तै कालीमाटी –बारेकोट सडकखण्डमा यात्रा गर्ने यात्रुहरुको गुनासो यस्तै छ । ‘यात्रु कोचाकोच, भाडा महंगो, कच्ची रोडमा मरिन्छकी भन्दै यात्रा गरिन्छ’ बारेकोट गाउँपालिका ४ का तिलक रावतले भने । ‘सरोकारवाला निकायको वेवास्ताले एकदुई पटक दुर्घटना पनि भईसकेको छ, अव पनि चासो नदिने हो भने यात्रुहरुले अकालमा ज्यान गुमाउने स्थिति सिर्जना हुन्छ’ रावतले थपे । सदरमुकाम खलंगा देखि गाउँपालिकाको केन्द्र लिम्सा सम्म पुग्न १ हजार ५ सय भन्दा बढी भाडा तिर्न यात्रुहरु बाध्य छन् ।

रुटपरमिट लागु भएका सडकमा जिल्ला प्रशासन कार्यालयले भाडा निर्धारण गरेको भएपनि ग्रामीण क्षेत्रमा भने भाडादर लागु भएको छैन । रुटपरमिट लागु नभएका सडकमा मनपरी भाडा असुल्दै आएपनि स्थानीय तह र प्रशासन भने मौन देखिन्छन् । गाडीमा नत भाडादर नै टाँसिएको छ नत बसाई आरामदायी छ । त्यही पनि सर्वसाधरण नागरिक बाट मनपरी भाडा लिईरहेको यात्रुहरुको गुनासो छ ।

‘कालीमाटी देखि लिम्सा सम्म जम्मा ३३ किलोमिटर जति होला तर पनि एक हजार भाडा तिर्दा यो त लुटतन्त्र भएन र सरकार ?’ स्थानीय जीवन तिरुवाले आक्रोश पोखे । बारेकोट यातायातको पुहँुचमा जोडिएपनि सर्वसाधारण नागरिक चर्काे मुल्य तिर्दै हैरान भएका छन् । यात्रुवहाक सवारी साधनले क्षमताभन्दा दोब्बर यात्रु राखेर गाडी कुदाउँदा जोखिम रहेको भए पनि कुनै निगरानी हुने गरेको छैन ।

यस्तै, जिल्लाको कुशे गाउँपालिकाका नागरिक महंगो भाडादरमा हिड्न बाध्य छन् । खलंगा देखि पाँचकाटिया सडक खण्डमा जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्धारण गरेको भाडाडर तिरे पनि पाँचकाटिया देखि गाउँपालिकाको केन्द्र सम्म निजी जिपहरुले मनपरी

भाडा असुल्दै आएको स्थानीयले गुनासो गरेका छन् । सदरमुकाम देखि भार्मा सम्म १५ सय भन्दा बढी तिर्न बाध्य भएको स्थानीय बताउँछन् । रुटपरमिट नभएकोले सडकको लम्बाई कति हो भन्ने समेत थाहा छैन । यी दुई स्थानीय तह मात्र होइन जिल्लाका अन्य स्थानीय तहमा निर्माण गरिएका सडकमा यातायात व्यवसायीहरु भने मनपरी भाडा असुल्दै आएका छन ।

तर स्थानीय तह र प्रशासन भने मौन देखिएका छन् । नागरिकहरु बाट चर्काे भाडा असुल्दा समेत स्थानीय तह र प्रशासनले कुनै काम भने नगरेको स्थानीयहरुको गुनासो छ । अस्थायी रुटपरमिट जारी गरि निर्धारण गरिएको सडकमा भाडादर लागु हुन सकेको छन् ।
जिल्लाको जुनीचाँदे गाउँपालिकाका नागरिकहरु पनि चर्काे भाडा तिर्दै आएका छन् ।

छेडा–जुनी सडक खण्डमा जोखिम मोलेर उनीहरु यात्रा गरिरहेको श्री माद्यामिक विद्यालयका शिक्षक प्रविन विकले बताए । ‘यात्रा पनि आरामदायी हुदैन, यात्रु कोचाकोच, भाडा महंगो कसरी हुन्छ सुरक्षित ?’ उनले भने । यातायात व्यवसायीको लाप्रवाहीका कारण पटकपटक सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले नागरिकहरु बाट त्यस्तो खालको गुनासो आएको छैन, आएको खण्डमा कारबाही गरिन्छ, कात्तिक १० गते सबै सरोकारवालाहरुलाई बोलाएर वैठक बस्ने जानकारी दिए । वैठक पछि जिल्लामा भाडादरलाई एकरुपता दिने उद्धोष गरृे ।

यस्तो छ प्रशासनले तोकेको भाडादर

समाचार प्रभाव : बारेकोटमा भाडा निर्धारण, कालीमाटी देखि घाट सम्म ५ सय मात्र !

जाजरकोटमा नयाँ भाडादर निर्धारण, कुन ठाउँमा कति ? (हेर्नुहोस भाडादर)