‘आर्थिक अभाव हुँदा दशैं खल्लो भयो,’ सुर्खेतस्थित बराहताल गाउँपालिका–६ इखेनीका ५४ वर्षीय जगत बादीले भने, ‘बनाएको मादल पनि बिक्रि भएन्। खेती उब्जानी पनि हुँदैन्।’ मादल बनाउन टाढाबाट निकै दुःख गरेर काठ ल्याएर बनाउँदा पनि बिक्री नहुँदा आफूलाई खल्लो लाग्ने गरेको जगत बादी बताउँछन्।
बनाएका मादल बिक्री नहुनुको पीडा जगतका लागि एकातिर छ भने अर्को पीडा लामो समयदेखी श्रीमती विरामी हुँदा उपचार खर्च नभएर घरमै राख्नुपरेको छ। ‘विरेन्द्रनगरसम्म जाने खर्च छैन्।’ जगतले भने, उपचार कसरी गर्ने? कहाँबाट खर्च जुटाउने?’
गाउँघरमा पहिले आफूहरुले बनाएको मादल र सुल्पा खुब बिक्री हुने गरेको तर, आजभोली बिक्री हुन छाडेको नारायण नगरपालिका –६ स्थित नमुना बस्तीमा बस्दै आएकी बादी समुदायकी अगुवा पौवा बादीले बताईन्। ‘पुर्ख्याैली पेशाभन्दा अरु काम खोजिरहेको छौं।’ पौवाले भनिन्, ‘बादी समुदायका युवाहरु चालकदेखि सामान लोडअनलोड र भारतमा काम खोज्न गईरहेका छन्।’
मादल तथा सुल्पा बिक्री गरेर जीवन चल्न नसकेपछि बादी समुदायका युवाहरु अहिले वैकल्पिक पेशातिर लागिरहेका हुन्। दैलेखमा रहेका बादी समुदाय यतिखेर काम खोजीमा भारत जाने, सवारी हेल्परदेखी चालक बनेका छन्। सदरमुकाम तथा बजार क्षेत्रमा रहेकाहरु सामान गाडीबाट लोड अनलोड गर्छन्।
सरकारले बादी समुदायका लागि आवास निर्माणको कार्यक्रम ल्याएपनि सबै समुदायमा पुग्न सकेको छैन। जसले गर्दा धेरै समुदायहरु खोलाको किनार तथा भिरालो जमिनमा जोखिम मोलेर बस्न बाध्य छन्। प्राय बादी समुदाय कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लामा बढी बस्ने गर्दछन्।