सल्यान — जिल्लाको त्रिवेणी गाउँपालिका १ तल्नो काभ्राकी वर्ष १६ की कविता बोहराको हत्या गर्ने किशोरलाई जिल्ला अदालत सल्यानले जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला अदालत सल्यानका न्यायाधीश कुलप्रसाद पाण्डेको ईजलासले बोहरालाई जन्मकैदको फैसला सुनाएको हो ।
१६ वर्षीय किशोरले पटक-पटक प्रेम प्रस्ताव गर्दा कविताले अस्वीकार गर्दै आएपछि हत्या गरेको बयानका आधारमा जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत सल्यानले जनाएको छ । मुलकी अपराध संहिता २०७४ को दफा १७७(२) बमोजिम जन्मकैद ठहर गरिएको जिल्ला अदालत सल्यानका श्रेष्तेदार हेमन्त ज्ञवालीले बताए । हत्या गर्ने किशोर भएकाले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ३६(३) बमोजिम आधा कैद छुट गरिएको उनले जनाए । उनका अनुसार बोहराको हत्या गरेका किशोरले १२ वर्ष ६ महिना कैद सजाय भुक्तान गर्नुपर्ने छ । प्रतिवादीबाट मृतकका परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत फैसला गरिएको उनको भनाइ छ ।
आव २०७६ फागुन २ गते राति करिब १२ बजे कविता गोठ नजिकैको भकारोको डिलमा मोबाइलमा फोन गरिरहेको बेला किशोरले खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरेको एक वर्षपछि मात्र प्रहरीले किशोरलाई पक्राउ गरेको थियो ।