☰ open Loading... 25 November 2024|  

मुगुमा १९ महिनापछि निगमको नियमित उडान
  | १५ कार्तिक २०७८, सोमबार ०५:४३

 

मुगु — जिल्लाको एक मात्र रारा विमानस्थलमा करिव १९ महिनापछि नेपाल वायु सेवा निगमको जहाजले उडान सुरु गरेको छ । निगमको जहाजले आइतबारबाट नेपालगञ्जदेखि रारा विमानस्थलमा यात्रुसहित उडान सुरु गरेको छ ।

पहिले सातामा दुईवटा उडान गर्दैआएको निगमको जहाज विभिन्न कारण देखाएर उडान बन्द गर्दा यात्रु मर्कामा परेका थिए । जोखिमपूर्ण सडकका कारण रारा विमानस्थलमा यात्रुको चाप वृद्धि भइरहेको अवस्थामा निगमको जहाजले उडान सुचारु गर्दा केही सहज हुने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

यस्तै निगमको जहाजले नेपालगञ्जदेखि रारासम्म ५ हजार ३ सय ३५ रुपैयाँ र रारा विमानस्थलदेखि नेपालगञ्जसम्म ५ हजार ३ सय ३५ रुपैयाँ हवाई भाडा कायम गर्दा सर्वसाधारण र बिरामी यात्रुलाई सहज हुने बताइएको छ ।

यात्रुको चापलाई मध्यनजर गरी निगमको जहानलाई सकेसम्म दैनिक उडान गराउन पहल भएको पनि प्रमुख जिल्ला अधिकारीको भनाइ छ । लामो समयसम्म निगमको जहाज बन्द हुँदा तारा, समीट र सीता एयरले दैनिक ५ देखि ६ उडान गर्दैआएको भए पनि रारा घुम्ने पर्यटकको दोहोरो टिकटले गर्दा स्थानीयलाई उक्त जहाजको टिकट पाउन मुस्किल भएको छ ।

निजी जहाजको हवाई भाडादरमा एकरुपता नहुँदा पनि सास्ती व्यहोर्नु परेको यात्रुहरूले बताउने गरेका छन् । चार्टर फ्लाइटको नाममा निजी एयरलाइन्सले यात्रुबाट ६ हजार ५ सय देखि ८ हजार ५ सयसम्म हवाई भाडा असुल्दैआएका छ ।