☰ open Loading... 26 November 2024|  

खाद्य कम्पनीको वीरेन्द्रनगर गाेदाममा रहेकाे बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि
  | १६ कार्तिक २०७८, मंगलवार ०५:२६

unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगरमा रहेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा त्याे चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ ।

काठमाण्डाै थापाथलीमा रहेकाे कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने सूचना आएपछि संयुक्त अनुगमन टोलीले यही असोज ६ गते नमूना सङ्कलन गर्नुका साथै बिक्री/वितरणमा प्रतिबन्ध लगाएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा जिल्ला प्रशासन, उपभोक्ता अधिकार मञ्चलगायत सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले  प्रादेशिक गोदाममा रहेको एक हजार नाै सय ७५ क्विन्टल बासमती चामल बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

सरकारी स्वामित्वको खाद्य कम्पनी लिमिटेडले आफ्ना डिपोमार्फत दुर्गम जिल्लाका लागि सहुलियत मूल्यमा चामल, दाल बिक्री/वितरण गर्ने गर्दछ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा सहायक विनोद पौडेलले आज आइतवारदेखि त्याे चामलको बिक्री/वितरण सुरु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गएकाे शुक्रवार बिक्री प्रतिबन्ध फुकुवा गरेको थियो ।  रासस