सुर्खेत-५६ वर्षीय नरबहादुर रोका अहिले विरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रभित्र बनाइएको शिविरमा बस्छन्। २०७१ साल साउन अन्तिममा आएको बाढीले उनी घरबारविहीन त भए नै अँझ त्यसपछि रोकाले दुवै खुट्टा गुमाए। ह्वीलचियरको सहारामा बाहिरभित्र गर्ने नरबहादुर रोका अहिले सानो छोराको भरमा शिविरमा बस्दै आएका छन्।
२ भाई र १ छोरी रहेका रोकाले अँझ बाढीको पीडा सुक्न नपाउँदै श्रीमती गुमाए। बुढेसकालको सहारा श्रीमती गुमाएसंगै आफू पनि अपाङ्ग भए। घरमा कमाउने पनि केही भएनन्। उनका लागि यो भन्दा बढी पीडा बाढीले घर बगाउँदा पनि भएको थिएन। हिजोआज नरबहादुरको दैनिकी पालभित्रै बित्ने गर्दछ। बिरामी हुँदा सानो छोराकै भरमा हुन्छन् उनी। मनकारीहरुले दिने राहतले घर खर्च धान्दै आएका छन् नरबहादुर।
गर्मीमा गर्मी र चिसोमा औधी चिसो हुने पालभित्रको जीवनदेखि घर कहिले बन्लार शिविर छाडौंला भनेर पर्खि बसेका छन्। ‘सरकारले घर बनाइएको भए पालको अत्यासलाग्दो जीवनबाट मुक्ति पाईन्थ्यो।’ घर छेउमै बसेका नरबहादुर रोकाले भने, ‘वर्ष गन्दागन्दै पालमै मरुला झै पो हुन थाल्यो। सरकारले अवस्था कस्तो छ भनेर समेत खोजीनीति नगर्दा दुःख लाग्छ।’
विस्थापित भएर आएपछि २०७३ सालमा खुटा नचल्ने भएपछि उपचारका क्रममा नरबहादुरले दुबै खुट्टा गुमाएका हुन्। प्रदेश सरकारले जग्गा किन्नको लागि ३ लाख दिने कुरा पनि कार्यान्वयन नहुँदा शिविरमा बसेका बाढी पीडितहरु झनै पीडित भएका छन्।
त्यस्तै नरबहादुरको भन्दा कम पीडा छैन रामकुमारी खत्रीको। ईत्राम खोलामा आएको बाढीले विस्थापित भएकी खत्रीका श्रीमान तारा बाग्ले १४ महिनादेखि पालभित्रै बिरामी भएर थलिएका छन्। औषधाेपचारका लागि खर्च नहुँदा पालमै रोग पालेर बसेका छन्। आँखा कम देख्ने रामकुमारी त्यसमा पनि काम गरेर घरखर्च धान्ने श्रीमान थला पर्दा निकै सकसपूर्ण तरिकाले जीवन काटेकी छिन्। ‘कमाई गर्ने श्रीमान बिरामी परेको वर्षदिन बढी भयो।’
रामकुमारी खत्रीले भनिन्, ‘म आँखा कम देख्छु। कहाँ गएर काम गरु। खाने गासको ठेगान नभएको बेला घर कहाँ पाउने?’ आफूले कुटेको गिट्ठी पनि बिक्री नहुँदा वर्षदिनदेखि त्यसै थन्किएको खत्रीले बताइन्। चुलो पाल्नका लागि गिट्ठी कुट्ने गरेको थिए।
उनले भनिन्, ‘त्यो पनि बिक्री नहुँदा त्यसै थन्किएको छ। शिविरमा रहेका अधिकाँशले विहान बेलुका गिट्ठी कुट्ने गरेका थिए। सरकारले आफ्नो दुःख देखेर पनि नदेखेझैं गरेको आरोप बाढी पीडितको छ। शिविरमा ८ वर्षदेखि बस्दै आएका बाढी पीडितहरुको आर्थिक अवस्था नाजुक छ। उनीहरुको दैनिक गुजारा समेत मुस्किलले कट्ने गरेको छ।
शिविरमा धेरैजसो जेष्ठ नागरिक, बिरामी र केटाकेटी छन्। छिटो सरकारले आफूहरुको पुनर्स्थापना गरेको भए, पालभित्रको दुःखदायी जीवन सकिने बाढीपीडितहरुको भनाइ छ।