सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गा व्यवस्थापन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सोमबार बसेको मन्त्रिस्तरीय बैठकले कार्यालयको भवन निर्माणका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका५ कालिका प्रावि र नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको कित्ता नम्बर ८६७ को १०३४ व।मी क्षेत्रफल भएको जग्गा व्यवस्थापन गरिएको हो ।
सो ऐलानी जग्गा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ अनुसार आवश्यक पक्रिया पूरा गरि कार्यालयको भवन बनाउन दिने निर्णय भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले जनाएको छ । परिषदको कर्णाली प्रदेश कार्यालयले यसअघि नै प्रक्रिया पूरा गरी
स्वीकृतीका लागि विभाग हुँदै मन्त्रालयमा फाइल पेश गरेको थियो ।कार्यालयका सूचना अधिकारी शिव रोकायका अनुसार चालु आर्थिक बर्षमै भवन निर्माणका लागि पनि बजेट माग गरिएको थियो । तर जग्गा प्राप्ति भइनसकेकाले बजेट बिनियोजन भने भएको छैन । ‘हामीले जग्गा प्राप्तिको फाइलसंगै चालु आर्थिक बर्षमै भवनका लागि बजेट पनि माग गरेका थियौँ तर जग्गा प्राप्तिमा समय लागेकाले बजेट आएन’ सूचना अधिकारी रोकायले भने, ‘अब जग्गा प्राप्ति भएकाले आउदो आर्थिक बर्षमा भवन निमार्णका लागि बजेट आउछ होला ।’