☰ open Loading... 25 November 2024|  

सम्झाैता भएकाे नौवर्षपछि कर्णाली करिडोरकाे खुलालुमा पक्की पुल
  | २६ कार्तिक २०७८, शुक्रबार ०५:२९

कालीकाेट – कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

याे पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता  भइ २०६८ सालमा नै काम सक्नुपर्ने जनाइएको थियो । कन्काई नेपाल प्रगति जेभीले झण्डै १४ करोडमा पुल बनाउन ठेक्का पाएको थियो । सम्झौता भएको नौ वर्षपछि बल्ल पुल निर्माण भएको छ ।

एक महिनाभित्र नै पुल सञ्चालनमा आउने कम्पनीका सञ्चालक दीपक मैनालीले जानकारी दिनुभयो । ‘औपचारिक शुभारम्भ गरेर एक महिनाभित्र नै सञ्चालनमा आउने छ ।’ उहाँले भन्नुभयो, ‘निर्माणको सबै काम सम्पन्न भएको छ ।’

करिडोरमा पुल नहुँदा नजिकैको जितेगडा बजारबाट फेरीमार्फत कर्णाली नदीमा गाडी तार्ने गरिएको कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका स्थानीय शिक्षक नवराज शाहीले जानकारी दिनुभयो ।

‘पुल नहुँदा फेरीबाट गाडी तार्ने गरिएको थियो ।’ उहाँले भन्नुभयो, ‘अब पुल निर्माण भएपछि करिडोर क्षेत्रमा गाडी सञ्चालनका लागि सहज हुनेछ ।’ त्यही करिडोरअन्तर्गतको खुलालुको पुल सञ्चालनमा आएको कालीकोटका पाँच , बाजुराका पाँच पालिकासहित मुगु र हुम्लावासीलाई गाडीबाट सञ्चालनमा सहज हुने रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले जानकारी दिनुभयो ।

‘करिडोरको पक्की पुल सञ्चालनमा आएपछि कालीकोट, बाजुरा, मुगु र हुम्लाका स्थानीयवासीलाई सहज हुनेछ।’ उहाँले भन्नुभयो, ‘पक्की पुल नबन्दा ढुवानी धेरै खर्च लाग्ने र कर्णाली राजमार्गबाट कर्णाली करिडोरसम्म भारी बोकेर सामान ओर्सानु पर्ने बाध्यता रहेको थियो । अब त्यो समस्या पूर्णरुपमा हल हुनेछ ।’

करिडोरको पक्की पुल सञ्चालनमा आएमा सुर्खेत, नेपालगञ्जदेखि हुम्लासम्मका गाडी सिधै जाने बाटो खुल्ने पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनुभयो ।  रासस