| १ मंसिर २०७८, बुधबार ०५:२२
रोल्पा — दुर्गम तथा सुरक्षा जोखिममा रहेको रोल्पाको धबाङ गाउँमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सदरमुकाम लिबाङसँग सीमा जोडिएको उक्त गाउँमा सोमबार चौकी स्थापना गरिएको प्रहरीले जनाएको छ ।
आत्महत्या, झैझगडा, लुटपाट तथा हिंसाजन्य गतिविधि अत्याधीक बढेको भन्दै उक्त गाउँमा चौकी स्थापना गर्न स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला सुरक्षा समितिको आग्रहपछि गृह मन्त्रालयले अनुमित प्रदान गरेको थियो ।
रोल्पा नगरपालिका–१० का वडाध्यक्ष मानबहादुर खत्रीले प्रहरी चौकीको स्थापनापछि शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन् । हाल उक्त चौकीमा आधा दर्जन प्रहरीलाई खटाइएको छ ।उक्त चौकी सदरमुकाम लिबाङस्थित जिल्ला प्रहरी कार्यालयबाट करिब १५ किलोमिटर उत्तरको दूरीमा रहेको छ ।