जुम्ला । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु पूर्व बाइसे चौबिसे राज्यको केन्द्र तथा सबैभन्दा शक्तिशाली राज्य (सिंजा राज्य) थियो । नेपाली खस भाषा तथा विकसित नेपाली भाषाको उद्गम स्थल पनि सिंजा नै हो । भने नेपाल भाषा, सभ्यता, संस्कृति, संस्कार पनि सिंजाले नै जन्माएको थियो । शक्तिशाली सिंजा राज्य सँगै विश्वका विभिन्न सभ्यता मध्य सिंजा सभ्यता पनि महत्त्वपूर्ण सभ्यता हो । प्राचीन सभ्यताको धरोहर पनि सिंजा सभ्यतालाई मानिन्छ ।
तर समयको विकास सँगै खस सिंजा राज्य, सिंजा सभ्यताको संरक्षण हुन सकेन । नत राज्यले ध्यान दियो । नत स्वयम जुम्लीले नै चासो राखे । सन् १९२८ तिर अङ्ग्रेजहरूले सिंजा सभ्यताको विषयमा थोरै अनुसन्धान गरेको जानकारहरू बताउँछन् । भने, २०२७ सालमा शताब्दी पुरुष सत्यमोहन जोशीले ‘सिंजा सभ्यता’को उत्खनन गरेका थिए ।
जोशीले सिंजा सभ्यताका बारेमा आफ्नो अध्ययन अनुसन्धान पुरा गरे पनि सभ्यताको संरक्षण भने, खास्सै हुन सकेन । त्यस्तै सङ्घीयतापछि सिंजा उपत्यका सय पर्यटकीय गन्तव्यमा छनौट पनि भयो । तर राज्यले सिंजा सभ्यताको खोज अनुसन्धानमा ध्यान दिएन । जसका कारण नेपाली भाषाको उद्गम स्थल सिंजा सभ्यताको विरासत, इतिहास, पुरातात्त्विक स्तम्भ, भाषा, संस्कृति सबै लोप हुदैं गए । सिंजा सभ्यता लोप हुँदै जानुमा जुम्ली नागरिक जतिकै राज्य पनि उत्तिकै गैर जिम्मेवार भएको देखिन्छ ।
राज्यको गैरजिम्मेवारीपन, मौन नागरिकहरूकै कारण सिंजा सभ्यताको संरक्षण चुनौतीपूर्ण बन्दै गयो । पछिल्लो पुस्ताले सिंजा सभ्यताको महत्त्व, आवश्यकता नबुझेका कारण पनि संरक्षण हुन सकेन । भने,अगुवाहरूबाट पनि संरक्षणका पहल भएनन् ।
तर सिंजा सभ्यतालाई पुनर्जीवन दिन, पछिल्लो पुस्तालाई सभ्यताको महत्त्व बुझाउन वर्षौँपछि प्रदेश सांसद तथा पूर्व मन्त्री नरेश भण्डारीले गएको असोज १० गते लोप हुँदै गएको सिंजा सभ्यता संरक्षणका लागि (सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८) दर्ता गर्नुभयो । नेपालमै पहिलो गैरसरकारी विधेयकका रुपमा संसद् सचिवालयको दर्ता नं. १८ मा दर्ता भयो । जुन सिंजा सभ्यता संरक्षणका लागि गरिएको पहिलो ऐतिहासिक पहल पनि हो । यस विधेयक नेपालीहरूमा सिंजा सभ्यताको इतिहास महत्त्व र विशेषता सबै झल्काउने आशा छ ।
विधेयकलाई पूर्णता दिन र छुटेका विषय समेट्न कात्तिक २८ गते प्रदेश सचिवालयको आयोजनामा खस राज्यको राजधानी कनकासुन्दरीको (लामाथाडा)मा सुझाव सङ्कलन गरियो ।सुझाव सङ्कलन कार्यक्रममा खस भाषा विद,सिंजा सभ्यताबिद, इतिहासकार लेखक,बृद्धिजीवि,र सिंजा सभ्यता सम्बन्धी जानकार व्यक्तिहरूले राज्यबाट दबाउन खोजिएको दबिएको, सिंजा सभ्यता संरक्षणका लागि विधेयक कोशे ढुङ्गा साबित हुने बताउनुभयो ।
सभ्यता जोगाउ जस्तोसुकै मूल्य चुकाउँछौ
खस राज्यको राजधानी लामाथाडामा आइतबार विधेयक माथि सुझाव दिँदै जुम्ली तथा सिंजाली नागरिकले विधेयकलाई प्रदेश सरकारले जसरी पास गर्ने बताएका छन् । यद्यपि, प्रदेश सरकारले विधेयक पास नगरेमा सिंजा सभ्यता जोगाउन जस्तोसुकै मूल्य चुकाउने पछि नपर्ने समेत प्रतिबद्धता गरेका छन् ।
तातोपानी ५ का स्थानीय तथा लेखक माधव चौलागाईले विश्व सम्पदा सूचीमा पर्नुपर्ने सिंजा सभ्यता राज्यको मौनताले संरक्षण समेत नभएको अवस्थामा विधेयक दर्ता हुनु प्रशंसनीय काम भएको बताउनुभयो । विधेयक सिंजा सभ्यता संरक्षण गुरुयोजना जस्तो अलपत्र नहोस् भन्दै विधेयकलाई ऐन बनाएर सिंजा सभ्यताको संरक्षण र विकासका लागि सबै नागरिकको साथ रहने उल्लेख गर्नुभयो ।
खस भाषा विद रमानन्द आचार्य नेपाली भाषा, सभ्यता, संस्कृति सिंजाले जन्माएको बताउँछन् । उनी भन्छन्,“खस भाषा विकसित भएर नेपाली भाषा भएको हो । खस सभ्यता भाषाको संरक्षणका लागि खस शब्दकोश प्रकाशनको तयारीमा छौ । प्राचीन सभ्यताको धरोहर पनि सिंजा हो । ढिलै भएपनि सिंजा सभ्यता संरक्षणको बहस शुरु भएको । बहसलाई निर्णायक बनाउन गाउँदेखि संसद् सम्म दबाब दिनुपर्छ ।”
त्यस्तै विधेयक माथि सुझाव दिँदै खस सभ्यता विद तुंगनाथ उपाध्यायले विधेयक स्वागत योग्य भएको बन्दै सिंजा सभ्यता सँग जोडिएको भाषा, संस्कृति, रीतिरिवाज, थाँडा र बाँडादेखि ऐतिहासिक पुरातात्त्विक सम्पदाहरूको संरक्षणमा सिंजाली,जुम्ली मात्र नभई समग्र कर्णाली बोल्नुपर्नेमा जोड दिनुभयो ।
साथै विधेयकमाथि सुझाव दिँदै निमित्त क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री, स्थानीय पृथ्वी उपाध्याय, डिल्ली तिवारी, प्रा.डा.दिनेश बास्तोला, नेता बलिराज शाही जनप्रतिनिधि नवराज न्यौपाने, हरि बहादुर डाँगी, रज बहादुर शाही लगायतका व्यक्तिले विधेयकलाई कार्यान्वयनमा ल्याउन, सिंजा सभ्यता संरक्षण गर्न सबै जुम्ली नागरिक एक ढिक्का भएर बढ्नु पर्नेमा जोड दिएका थिए ।
सिंजा सभ्यताको संरक्षण बिना हाम्रा पहिचान पनि असुरक्षित छ । स्थानीय पृथ्वी उपाध्यायले भन्नुभयो,“अझै सेरा ज्युलो, चौकी, काँडाबारी(चिडियाघर), हाडसिंजा, दरबार, सुनार गाउँ, लामाथाडा लगायत पुरातात्त्विक सम्पदा अझै छन् । हामी मौन भएर सबै लोप भए । अब विधेयक दर्ता भएको छ । सभ्यता जोगाउन फेरी जुम्ली योद्धा बन्न, रगत बगाउन पनि तयार हुनुपर्छ ।”
विधेयकले सभ्यताको संरक्षण र पर्यटक आगमन गर्छ
प्रदेश सांसद तथा पुर्वमन्त्री नरेश भण्डारीले २०६४ को निर्वाचन जितेर गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०६८ दर्ता गराएका थिए । लामो सङ्घर्षपछि अन्ततः जुम्लामा कर्णाली प्रतिष्ठान स्थापना भयो ।
ठ्याक्कै १० वर्ष पछि दोस्रो कदम (सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८) दर्ता भएको छ । सांसद भण्डारीले भन्नुभयो,“हिजो कर्णाली प्रतिष्ठान ल्याउँदा पनि सबैले पागलपन भने । अहिले पनि कुरा काट्छन् होला । तर हिउँदे अधिवेशनमा विधेयक टेबुल हुन्छ । जसरी पनि पास हुन्छ । नभए एक्लै पनि संसद् अवरोध गर्छु ।”
सिंजा सभ्यता कर्णालीको मात्र नभई समग्र नेपालको पहिचान भएकोले विधेयक पास हुनेमा शङ्का नरहेको समेत भण्डारीको भनाई छ । पास नभए सभ्यता जोगाउन एक पटक सबै जुम्ली प्रदेश राजधानी ओर्लिनुपर्ने उल्लेख गर्नुभयो ।
विधेयक पास भएपनि ऐन बन्छ । ऐनका आधारमा प्राधिकरण गठन गरेर सिंजा सभ्यताको संरक्षण विकास, अध्ययन अनुसन्धान लगायतका काम अघि बढ्ने छन् । भने, विश्वभरका खस तथा गैर खस नागरिकलाई सिंजा सभ्यता अवलोकनका लागि निम्तो दिने वातावरण सृजना गर्ने गरी काम गर्ने छौ ।
उहाँले थप्नुभयो,“विधेयक भएका योजना अनुसार काम सफल गर्न जुम्ली नागरिकको साथ चाहिन्छ । आज सम्म सुतेर नबोलेर राज्यको ध्यानाकर्षण नगर्दा सभ्यता पनि सुत्यो । अब उठ्नु पर्छ । सिंजा सभ्यताकै कारण धार्मिक संस्कृति पर्यटनको विकास गरी आर्थिक समृद्धि हासिल हुन्छ ।”
विधेयक भित्रको एक परियोजना (खस भिलेज,गैर खस भिलेज निर्माण) गरी पर्यटक आगमन बढाउने लक्ष्य छ । सबै जातजाति भाषा भाषीको संरक्षण हुने गरी जुम्ली पहिचान झल्काउने थाँडार बाडाको पुनर्स्थापना हुने गरी खस गाउँ निर्माण गरिने पुर्वमन्त्री भण्डारीको भनाई छ । भने, कर्णाली प्रतिष्ठान जस्तै सिंजा सभ्यता विधेयकलाई पनि सफल बनाएरै छाड्ने उनको प्रतिबद्धता छ । पर्यटनबाटै आर्थिक समृद्धि सम्भव छ । सिजा सभ्यताको विकासले यहाँका नागरिकको जीवनस्तर सुधार हुनेमा जोड दिनुभयो । रेडियो नेपाल