सुर्खेत । मेरुदण्ड पक्षघात समूह नेपालले मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क मेडिकल सामाग्री वितरण गरेको छ ।समूहले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग एवं कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी कर्णालीका ११ जना मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक अत्यावश्यक मेडिकल सामाग्री निःशुल्क वितरण गरेको हो ।
मेडिकल सामाग्री वितरण गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिहरूको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले आउँदा दिनहरू सहुलियतपूर्ण कार्यक्रम ल्याउने योजनालाई प्राथमिकतामा राखेको जानकारीदिए।
कार्यक्रममा मेरुदण्ड पक्षघात समूह नेपालका केन्द्रीय अध्यक्ष ऋषिराम ढकालले कर्णालीका हाल सङ्गठित ११ जनालाई १ वर्षसम्म पुग्ने गरी पाँच प्रकारका मेडिकल सामाग्री वितरण गरिएको बताए।