☰ open Loading... 23 December 2024|  

कर्णालीको जिल्ला नेतृत्वमा देउवा पक्षकै बाहुल्य
  | १० मंसिर २०७८, शुक्रबार ०५:३४

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कर्णालीमा भएको जिल्ला अधिवेशनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षकै बाहुल्य छ।

कांग्रेस प्रदेश समितिका अनुसार, कर्णालीका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन भएको छ। अधिवेशन भएका सबै जिल्लामा देउवा पक्षकै नेता जिल्ला नेतृत्वमा आएको एक नेताले बताए।

जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, कालिकोटमा अम्बरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही सभापति भएका छन्। यी आठै जिल्लामा ८ मंसीरमा जिल्ला अधिवेशन भएको हो।

त्यस्तै, सुर्खेत र दैलेखमा जिल्ला अधिवेशन हुन बाँकी छ। दुवै जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुन लागेको छ।सुर्खेतमा शुक्रबार सात पदाधिकारी सहित जिल्ला कार्यसमितिका लागि निर्वाचन हुने कांग्रेस सुर्खेतका सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले बताए। त्यस्तै, दैलेखमा पनि शुक्रबार जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ।