☰ open Loading... 20 November 2024|  

महामन्त्री खड्का र मुख्यमन्त्री शाहीले यसरी भत्काए कर्णालीमा पौडेलको गढ
  | १९ मंसिर २०७८, आईतवार १८:१९

१३ औं महाधिवेशनबाट कर्णाली वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको गढको रुपमा स्थापित थियो । १० जिल्लामध्ये हुम्लामात्र सभापति शेरबहादुर देउवा संस्थापन समूहले सभापति जितेको थियो । ९ जिल्लामा संस्थापनइतरका सभापति थिए । त्यसैले मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य जीवनबहादुर शाही बेलाबखत भन्ने गर्थे– जिल्ला नेतृत्व आफ्नो पक्षमा नहुँदा निकै अप्ठेरो हुँदो रहेछ ।

शाहीको लागि त उनको गृह जिल्ला हुम्लामा खासै समस्या थिएन । महामन्त्रीसमेत रहेका नेता पूर्णबहादुर खड्कालाई भने सुर्खेतमा जिल्ला नेतृत्व आफ्नो पक्षमा नहुँदा निकै सकस थियो । महामन्त्रीजस्तो उच्च पदमा पुगेको नेतालाई जिल्लामा सामान्य मर्यादासमेत ख्याल गरिन्थेन । यद्यपि १४ औं महाधिवेशनबाट यी दुबै नेताले कर्णालीमा पौडेल समूहको गढ भत्काउँदै आफ्नो समूहको बर्चश्व स्थापित गरेका छन् । १० मध्ये ८ जिल्लामात्र होइन, कर्णाली प्रदेशको नेतृत्वसमेत आफ्नो पकडमा लिएका छन् ।

गढ भत्काउने अभियानको सुरुवात केन्द्रीय सदस्य शाहीले गृहजिल्ला हुम्लाबाट दसैंअघि सुरु गरेका थिए । त्यहाँको जिल्ला सभापतिसहित सबै महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि एकलौटी आफ्नो समूहमा ल्याए । त्यसैगरी सुर्खेतमा पनि महामन्त्री खड्काले हुम्लामा जस्तै जिल्ला नेतृत्व, दुईवटा संघीय निर्वाचन क्षेत्र र चारवटा प्रदेश निर्वाचन क्षेत्रमा नेतृत्वसहित सबै प्रतिनिधि एकलौटी हात पारे । खड्काको गृहजिल्ला सुर्खेत र शाहीको गृहजिल्ला हुम्लामा पौडेल समूह ‘क्लिन स्वीप’ हुनु नै संस्थापन समूहको लागि विजयको आधार बन्यो । महामन्त्री खड्काले सुर्खेतका साथै प्रदेशभर आफ्नो समूहलाई विजयी गराउन रणनीतिक रुपमा निकै मिहिनेत गरे । विशेषगरी पौडेल समूहका प्रभावशाली नेताहरुलाई आफ्नो समूहमा तान्ने काम गरे । उनले यसको सुरुवात सुर्खेतबाटै गरेका थिए । १३ औं महाधिवेशनमा पौडेल समूहमा रहेका पूर्वराज्यमन्त्री तप्तबहादुर बिष्ट (स्वर्गीय) र उनीनिकट टोपबहादुर रावत तथा गोविन्द कोइराला, वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदी, पूर्व जिल्ला सचिव श्याम भारतीलाई आफ्नो समूहमा भित्र्याए । यसले गर्दा उनले सुर्खेतमा झण्डै ७० प्रतिशत प्रतिनिधि आफ्नोमा ल्याउन सफलता पाए । र, सहजै आफ्नो विश्वासपात्र खड्कप्रसाद पोख्रेललाई नेतृत्वमा स्थापित गरे । यसबाट साविकको क्षेत्र नं. १ ले पहिलोपटक कांग्रेसको जिल्ला नेतृत्वमा पुग्ने मौका पायो । सोही क्षेत्रबाट २०४८ सालदेखि चुनाव लड्दै आएका खड्कामाथि आफ्नो क्षेत्रबाट जिल्ला सभापति बनाउन नसकेको जनगुनासो थियो । यसपटक त्यसको पनि संवोधन गर्न सफलता पाए ।

खड्काले नेता तान्ने रणनीति उनले प्रदेशको राजनीति आफ्नो समूहको पक्षमा पार्नको लागि पनि प्रयोग गरे । जुम्लाका पूर्वसभासद ललितजंग शाहीलाई करिब ४ महिनाघि नै प्रदेश सभापति बनाउने आश्वासनसहित आफ्नो समूहमा ताने । निर्वाचनमा उनलाई समूहको तर्फबाट टिकट नदिन अनेक दवाव भए पनि उनले ‘बचनबाट पछि हट्दैन’ भन्दै नेतृत्वमा जिताइछाडे । महामन्त्री खड्काले जिल्ला अधिवेशनको मुखमा जाजरकोटका नेता बेदराज सिंह र प्रेमप्रकाश वलीलाई पनि आफ्नो समूहमा भित्र्याए । यसबाट यी दुबै जिल्लामा संस्थापन समूहको तर्फबाट सिंह र वली सभापतिमा निर्वाचित भए । जुम्लामा स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा संस्थापन पक्ष कमजोर देखिए पनि जिल्ला निर्वाचनमा भने नेतृत्व हत्याउन सफल भयो । यसको लागि संस्थापन समूहमा भित्रिएका शाही र जिल्लाको पार्टी राजनीतिमा प्रभावशाली मानिने चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले पनि निकै मिहिनेत गरे । मुगु, डोल्पा र सल्यानमा पनि संस्थापन समूहले निर्वाचनबाट नेतृत्व कब्जा ग¥यो । पौडेल समूह भने कालीकोट र दैलेखमा सीमित भयो । कालीकोटमा देउवा समूह बलियो भए पनि पौडेल पक्षीय युवा नेता भूपेन्द्रजंग शाहीको प्रभाव र रणनीतिले समर्वसम्मत रुपमा नेतृत्व चयन भयो । पौडेल पक्षका अम्मबहादुर शाही सभापति बन्दा देउवा पक्षीय नेता मोतिराज बल समूह परित्याग गर्दै निधि समूहमा गए । उनी समूहकमो तर्फबाट कर्णाली प्रदेशको सभापतिमा चुनाव लडे । पौडेल समूहले चुनाव लडेर जितेको एकमात्र जिल्ला दैलेख हो । पौडेल समूहका नेताहरु गणेशबहादुर खड्का, कृष्णबहादुर बिसी, मणिराम रेग्मी एक संगठित हुँदा आफ्नो वर्चश्व स्थापित गर्न सफल भए ।

शनिबार सम्पन्न निर्वाचनबाट प्यानलसहित प्रदेश सभापति जितेपछि देउवा समूहले कर्णालीमा आफ्नो पकड जमाएको छ । सुदूरपश्चिममा शेरबहादुर देउवाको प्रभाव रहेजस्तै कर्णालीमा महामन्त्री खड्काको प्रभाव स्थापित भएको छ । अर्कोतिर पौडेल समूहमा युवा नेता भूपेन्द्रजंग शाहीको प्रदेश राजनीतिमा उदय भएको छ । कालीकोटमा आफ्नो पक्षमा परिणाम ल्याउँदै प्रदेश सभापतिमा उम्मेदवार बनेपछि कर्णालीमा ‘पौडेल समूहको अबको नेता को ?’ भन्ने बहस सुरु भएको छ ।