☰ open Loading... 30 November 2024|  

प्रदेश २ मा बलियो देउवा, गृहनगरमै कमजोर बनेपछि सभापतिबाट ब्याक हुँदै विमलेन्द्र निधि
  | २० मंसिर २०७८, सोमबार १९:१२

प्रदेश २ मा बलियो देउवा, गृहनगरमै कमजोर बनेपछि सभापतिबाट ब्याक हुँदै विमलेन्द्र निधि

‍काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नम्बर २ मा संस्थापन पक्ष बलियो देखिएको छ । प्रदेश २ बाट उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका बेला महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि र जिल्लाको नेतृत्वको नतिजामा देउवा बलियो देखिएका हुन् । निधि निकै कमजोर सावित भएका छन् ।

प्रदेश नम्बर २ मा तीन जिल्लाको अधिवेशन हुन बाँकी छ । सर्लाहीका ४ र महोत्तरी तथा सप्तरीका एक–एक क्षेत्रमा निधि र रामचन्द्र पौडेल समूहका कारण अधिवेशन हुन सकेको छैन । यीबाहेक २६ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि र जिल्ला सभापति छनोट भइसकेका छन् । क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा देउवा पक्षको अग्रता देखिएको हो ।

प्रदेश २ का ३२ मध्ये २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेतृत्वसहित महाधिवेशन प्रतिनिधि चुनिँदा निर्वाचित क्षेत्रीय सभापतिमध्ये २० देउवा समूहका छन् । पौडेल–कोइराला समूहमा ४ र निधि समूहमा २ जना छन् ।

सप्तरी–१, २ र ३ मा क्रमशः ललन गुप्ता, महानन्द यादव र भूपेन्द्र यादव सभापतिमा निर्वाचित भएका छन् । उनीहरु देउवा समूहबाट जिल्ला सभापति रहेका दिनेश यादवनिकट छन् । सप्तरीमा उनसँग ९० प्रतिशत महाधिवेशन प्रतिनिधि छन् । रौतहट–२ मा कैदी जीवन बिताइरहेका देउवानिकट मोहमद अफताब आलम पक्षले सभापतिसहित सबै महाधिवेशन प्रतिनिधि जितेको छ ।

पर्साका चारवटै क्षेत्रमा क्षेत्रीय सभापतिसहित बहुमत महाधिवेशन प्रतिनिधि देउवा समूहले जितेको छ । बाराका चारवटै क्षेत्रमा पनि देउवाले सभापतिसहित बहुमत महाधिवेशन प्रतिनिधि जितेको छ । प्रदेश २ मा मन्सुरसहित आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रमेश रिजाल, कृष्णा यादव, चित्रलेखा यादवजस्ता नेताहरू देउवाको पछाडि ब्याक फोर्सका रुपमा छन् ।

आफ्नै मधेस क्षेत्रमा नतिजामा पछाडि परेपछि निधिले सभापतिको दौडबाट ब्याक हुने विकल्पमा परामर्श थालेका छन् । आफू आफ्नै ठाउँबाट नजित्ने अवस्थामा देउवालाई सहयोग गरेर अघि बढ्ने निधि रणनीति रहेको जानकारहरु बताउँछन् ।