कर्णाली प्रदेशमा पछिल्लो एकबर्षमा राज्य र अन्यपक्षबाट झन्डै पाँचसय वटा मानव अधिकार उलङ्घनका घटना भएको पाईएको छ। विश्व मानव अधिकार दिवस मनाइँदै रहदाँ कर्णालीमा भने यस्तो तथाङक सार्वजनिक भएको हो। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको सम्झना स्वरूप प्रत्येक वर्ष १० डिसेम्बरको दिन दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ।
मानवअधिकार संस्था इन्सेकले राज्यपक्षबाट ५८ जना नागरिक पिडित भएको जनाएको छ भने अन्यपक्षबाट ४ सय २६ वटा घटना भएको जनाएको छ। पछिल्ला केही बर्ष कर्णाली प्रदेशमा मानवअधिकार उलङ्घनका घटना बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ। अन्य पक्षबाट पीडित हुने पुरुषभन्दा महिलाहरुको संख्या धेरै रहेको छ। ३ सय ३२ महिलाहरु मात्र विभिन्न कारण पीडित बनेका छन् भने ९४ जना पुरुषहरु मात्र रहेका छन। राज्य र अन्य गरी दुवै पक्षबाट १० जिल्लामा जम्मा ४ सय ८४ वटा मानवअधिकार उलङ्घनका घटनाहरुबाट पीडित बनेका छन्।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कानुनी राज्यमा पनि मानव अधिकारका घटनाहरु दिन प्रतिदिन बढ्नु दूर्भाग्य रहेको बताउनुभयो। उहाँले अहिले बालिकामाथी यौन् दुर्व्यबहारका घटना पनि बढै गएको प्रति चिन्ता जनाउदै प्रयाप्त कानुनको अभावले यस्तो समस्या देखिएको उल्लेख गर्नुभयो।