रुकुम पश्चिम – महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला रुकुम पश्चिमको जिल्ला अदालतमा पहिलो पटक घरेलु हिंसाको मुद्दामा फैसला भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का रामबहादुर खड्काविरुद्ध परेको घरेलु हिंसाको मुद्दामा फैसला भएको हो।
गएको मङ्गलवार रुकुम जिल्ला अदालत मुसिकोटका न्यायाधीश विद्याराज पौडेलको इजलासले प्रतिवादी खड्कालाई पाँच हजार रुपैयाँ जरिबाना र एक लाख रुपैयाँको क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले बताए ।स्रेस्तेदार बोहराका अनुसार खड्काविरुद्ध उहाँकी श्रीमती अमृता केसीले घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर गरेका थिए ।
नेपाल बार एसोसिएशन रुकुम पश्चिमका अध्यक्ष गणेश हमालले जिल्लामै घरेलु हिंसाको मुद्दामा पहिलो पटक फैसला भएको बताउनुभयो । अध्यक्ष हमालले विश्वभर महिला हिंसाविरुद्धको अभियान चलिरहेकै बेला जिल्ला अदालतबाट महत्त्वपूर्ण फैसला भएको बताए ।