जाजरकोट : चारैतिर सेताम्य हिमाल, बीचमा हिउँले नै पुरिएका सम्म फाँटहरू देख्दा झट्ट आहा भन्ने लागे पनि त्यो एकैक्षणमा पीडामा रूपान्तरण हुने गर्छ।
घुम्न रमाइलो र मनोरम दृश्यका लागि सबैको रोजाइमा पर्ने भएपनि बर्सेनि उपल्लो डोल्पामा बसिरहेका सर्वसाधारणको पीडा भने थपिँदै गएको छ।
असमान आर्थिक बाँडफाँड प्रणालीका कारण उपल्लो डोल्पामा राज्यको अनुभूति गराउन नसकेको स्थानीयको गुनासो छ।
उपल्लो डोल्पाका ३ पालिकालाई छुट्टै क्षेत्र बनाएर राज्यले सेवासुविधा दिनुपर्ने त्यहाँका नागरिकले केही दिनअघि डोल्पा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग माग गरेका थिए।
प्रचण्डले यसमा आफूले सकेको गर्ने आश्वासन दिएका थिए।
बर्सैभरि चिसो
मध्यपहाड र तराई क्षेत्रमा ३ प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधैँ एकैनासको मौसम हुने गर्दछ।
झन्डै ४ महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी ८ महिनामा समेत मौसम चिसै रहन्छ।
“पशुचौपायालाई उवाको जम्मा गरिराखेको पराल खुवाउने र सर्वसाधारण घरभित्र थुनिएर बस्नुपर्ने बाध्यता छ”, डोल्पोबुद्ध गाउँपालिका–१ धो मा बस्दै आएका पेमा गुरुङले भनिन्, “छिमेकी गाउँहरुमा जान सक्ने अवस्था छैन, हिउँले बाटो बन्द गरेको छ। बाक्लो हिमपातले बाटोको डोब नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना छैन। यहाँका बासिन्दा बिरामी भए डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था छ।”
उपल्लो डोल्पा सधैँ चिसो र हिउँले सेताम्य हुन्छ। मध्य डोल्पामा मध्यम खालको मौसम हुने गर्दछ भने तल्लो डोल्पाको मौसम जाजरकोटसँग मिल्दोजुल्दो रहेको छ।
यहाँका स्थानीयले जाडो याममा पुग्ने गरी खाना जम्मा गरेर राख्ने गर्दछन्। उपल्लो डोल्पामा सञ्चालनमा रहेका सरकारी कार्यालय र स्थानीय तहका कर्मचारीसमेत दुनै झरेर जाडो कटाएर उपल्लो डोल्पा फर्कने गरेका छन्।
नियमित खोप ४ महिना बन्द
गर्भवती, सुत्केरी र बालबालिकालाई चिसोले ठूलो समस्या ल्याउने गरेको छ। सञ्चार सम्पर्कसमेत मुस्किलले हुने उपल्लो डोल्पामा जाडो याममा बिरामी भए उपचार पाउन मुस्किल छ।
हिमपातकै कारण उपल्लो डोल्पामा ४ महिना नियमित लगाउने खोप सेवासमेत बन्द हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमख सिंहराज शाहीले बताए।
उनले भने, “हिउँले बाटो बन्द छ, हेलिकप्टरमा खोप ल्याउन सक्ने हाम्रो क्षमता छैन। कम्तीमा ४ महिना त पूरै खोप बन्द हुने गर्दछ।”
चिसो मौसमका कारण स्वास्थ्य संस्थासम्म बिरामी जान नसक्दा स्थानीय आम्चीद्वारा उपचार हुने गरेको स्थानीयले बताएका छन्।
स्थानीय जडीबुटीबाट गरिने यो उपचार विधिमा स्थानीय तहले पनि सहयोग गर्दै आएका छन्।
सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा भारी मात्रामा जडीबुटी पाइने क्षेत्रका रुपमा स्थापित छ।
उत्तरी क्षेत्र सुरक्षाकर्मीविहीन
चिसोका कारण उपल्लो डोल्पाका ७ वटा प्रहरी चौकीसमेत सदरमुकाम दुनै सारिएको छ। चिसोबाट जोगिने आवश्यक सामग्री नहुँदा प्रहरी चौकी दुनै सारिएको हो।
उपल्लो डोल्पा अहिले सुरक्षाविहीन अवस्थामा रहेको पेमाले बताइन्। “हुनेखानेहरू सदरमुकाम दुनैसहित देशका विभिन्न ठाउँमा झरिसकेका छन्, गरिबहरू मात्र हिउँको खालमा बस्न बाध्य छन्।”
यहाँको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा समेत चिसो मौसममा वन्यजन्तुको सुरक्षा गर्न मुस्किल हुँदै आएको छ।
हिउँ चितुवालगायत संरक्षित जनावरहरु उपल्लो डोल्पामै पाइन्छ। उपल्लो डोल्पामा रहेका सुरक्षा पोष्टसमेत चिसोले प्रभावित हुने गरेका छन्।
सुरक्षाका कारण देखाउँदै सुलिगाडमा झारिएको कार्यालय अहिलेसम्म उपल्लो डोल्पामा सार्न नसकिएको निकुञ्जले जनाएको छ।
स्कुल बन्द, विकास निर्माण ठप्प
उपल्लो डोल्पामा हिमपातले विद्यालयसमेत बन्द भएका छन्। हिउँ पग्लिएपछि मात्र स्कुल खुल्नेछन्।
अहिले विकास निर्माणका कामसमेत सबै ठप्प भएका छन्। उपल्लो डोल्पामा हिउँ पग्लिएपछि चैतबाट मात्र विकास निर्माणका काम सुरु हुने छन्।आर्थिक वर्षसमेत बदल्नुपर्ने उपल्लो डोल्पाका जनप्रतिनिधिले बताएका छन्।रासस