काठमाडौँ — केपी ओली नेतृत्वको सरकारविरुद्व गएको वैशाख अन्तिम साता विपक्षी दलहरूको मोर्चा बन्दै थियो, पाँच दलीय मोर्चाको नेतृत्व कांंग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए । तर, गठबन्धनको गाँठो कस्ने भूमिकामा थिए, महामन्त्री पूर्णबहादुर खड्का । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका खड्कालाई देउवाले पार्टीको महामन्त्री मनोनीत गरेका थिए । तर, पछिल्ला दुई वर्ष उनी देउवाको ‘राइट ह्याण्ड’ को भूमिका छन् ।
देउवाले लिने सबैजसो निर्णयमा खड्काको भूमिका रहन्छ । खड्का नै देउवाका रणनीतिक योजनाकार हुन् । नेता खुमबहादुर खड्काको समूहबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका उनी खड्काकै कोटामा पहिले सहमहामन्त्री र पछि महामन्त्री भए । पछिल्लो पटक ०७४ मा खुमबहादुरको निधनपछि देउवाले उनलाई २१ बैशाख, ०७५ मा महामन्त्री मनोनीत गरेका थिए । अब पार्टीको उपसभापतिमा निर्वाचित भएपछि खड्का कांग्रेसमा झन् शक्तिशाली बनेका छन् ।
गृहसहित विभिन्न मन्त्रालयमा पटक–पटक मन्त्री भएर जिम्मेवारी लिएका उनी अहिलेसम्म विवादमा नपर्ने नेतामध्ये पर्छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने उनी पार्टीभित्र निष्ठावान् नेताका रुपमा परिचित छन् । अहिले पनि घरि–घरि ललितपुरको बाडेगाउँस्थित किसुनजीको कुटीमा पुगेर पूजाआजा गर्ने खड्का आफूलाई किसुनजीको सच्चा कार्यकर्ता ठान्छन् ।
‘बीपीबाट प्रेरित र किसुनजीको सच्चा अनुयायी हो उहाँ । पार्टीको कठोर अनुशासनमा बसेको नेता हो,’ उनीनिकट एक नेताले भने ।
त्यसो त देउवा समूहमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा लड्ने घोषणा गरेपछि खड्काको भूमिका बढेको हो । ‘अहिले हाम्रो समूहको राणनीतिक कमान्डर नै उहाँ हो । उहाँको परामर्शमा सभापतिज्यूले धेरै निर्णय लिनुहुन्छ,’ देउवा समूहका ती नेताले भने ।
देउवाले खड्कालाई आफ्नो समूह र पार्टीमा मात्रै होइन, सत्ता गठबन्धनमा पनि महत्वपूर्ण भूमिका दिएका छन् ।
खड्काले गठबन्धनको नीति तथा कार्यक्रम निर्माण गर्नेदेखि गठबन्धनमा कांग्रेसले खेल्ने रणनीतिक भूमिकामा कांग्रेसबाट प्रतिनिधित्व गर्दै आएका छन् । खड्काको त्यो सक्रियता र भूमिकाकै कारण उनलाई १४ औं महाधिवेशनमा निर्विकल्प उपसभापति उम्मेदवार बनाएको नेताहरूको भनाइ छ ।
०१० सालमा सुर्खेतमा जन्मिएका खड्का ०४५ सालदेखि नै सक्रिय राजनीतिमा छन् । गाउँमा जन्मिए पनि खड्काको परिवार सबल र राजनीतिक नै थियो, उनका बुवा जिल्ला पञ्चायतको उपसभापति थिए । माध्यमिक शिक्षापछि नेपालगन्ज र काठमाडौंबाटै उच्च शिक्षा हासिल गरेका खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म पनि भए । ०३६ सालको जनमतसंग्रह र ०४६ सालको आन्दोलनमा उनको सक्रिय भूमिका रह्यो ।
त्यसबीचमा उनी दलमाथि प्रतिबन्ध भएकै बेला जनपक्षीय उम्मेदवारको रुपमा स्थानीय चुनावमा प्रतिस्पर्धा गरे, र जिते पनि । तर, छोटो समयमै उनी पञ्चायतबाट निलम्बित भए । राजनीतिक आन्दोलनकै क्रममा पटक–पटक गरेर ५ महिना हिरासतमा परेका खड्का बहुदल स्थापनापछि तत्कालिन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईका प्रिय पात्र थिए ।
भट्टराईकै स्नेहमा उनी ०४५ सालमा सुर्खेत सभापति भए । ०४८ को आमनिर्वाचनमा उनी सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भए । ०५१ को मध्यावधि चुनाव जितेका उनी राज्य व्यवस्था समितिको सभापति बने । त्यही बेला उनले पार्टीमा आफ्नो पकड बढाए ।
यसक्रममा खड्काले पटक–पटक गरेर गृहसहित आधा दर्जनभन्दा धेरै मन्त्रालय सम्हाले । उनले गृह, सूचना तथा सञ्चार, युवा, खेलकुद तथा संस्कृति, वातावरण र उद्योग वाणिज्यमन्त्री भएर काम गरे ।कान्तिपरबाट