☰ open Loading... 25 November 2024|  

‘सुन्दरी तोप’ ५० वर्षपछि दैलेखमा
  | १० पुष २०७८, शनिबार ०५:१९

दैलेख — २०२८ सालको भोकमरी धान्न नसक्दा दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सारियो । सैनिक गणमा रहेका सुन्दरी, अर्गा लगायतका तोपहरु पनि बोकेरै सुर्खेत ल्याइयो । सेना र दैलेखको इतिहाससँग जोडिएका तोप ५० वर्षपछि दैलेखमा पुन:स्थापना गर्न लागिएको छ । नेपाली सेनाको पश्चिम कमान्डले ‘सुन्दरी तोप’ दैलेख पठाउने अन्तिम तयारी भएको जनाएको छ ।

 

 

दैलेख काडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामाले जंगी अड्डाले सुर्खेत राजदलमा राखिएको सुन्दरी तोप दैलेख पुन:स्थापना गर्न स्वीकृत दिएको बताए । ‘हामीले पश्चिम कमान्ड हेडक्वार्टरलाई बारम्बार पत्रचार गरेका थियौं,’ उनले भने, ‘नारायण नगरपालिकाले सुरक्षा र रेखदेखको जिम्मा लिने भएपछि तोप पुन:स्थापनाको प्रक्रिया अघि बढाइएको हो ।’ विसं १८४६ सालमा बहादुर शाहको पालामा उक्त तोप बनेको इतिहास छ । सुन्दरी तोप पितलबाट बनेको हो ।

दुई महिनाभित्र नेपाली सेनाको ट्रकमार्फत दैलेखको कोतगढीमा तोप पुन:स्थापना गर्ने तयारी छ । कोतगढी नेपाली सेनाको स्वामित्व रहेको छ । तोप दैलेख पुन:स्थापनाको पहल गरिरहेका तत्कालीन इन्द्रदल गुल्मका गुल्मपति सुनिलकुमार मल्लले कोतगढीका संरचना पुरानै अवस्थामा फर्काउन जरुरी रहेको औंल्याए । ‘तोपको सुरक्षाको जिम्मा स्थानीयलाई दिँदा सुरक्षित नहुन सक्छ । नेपाली सेनाले नै सुरक्षाको जिम्मेवारी लिनुपर्दछ’, उनले भने । नेपाली सेनाको स्वामित्वमा रहेको ऐतिहासिक कोतगढीको अहिले नारायण नगरपालिकाले आफ्नो जिम्मा लिएको छ ।

नेपाली सेनाको पश्चिम कमान्डका सेनापति प्रेमबहादुर शाहीले ऐतिहासिक सम्पदा संरक्षण र प्रर्वद्धनका लागि कानुन बाधक नहुने बताए । स्थानीयको माग अनुसार दैलेख पठाउन लागिएको उनको भनाई छ । सुन्दरीसँगै अर्गा तोप पनि दैलेखबाट ल्याइएको थियो । उक्त तोपको खोजी भइरहेको सेनापति शाहीले बताए ।

नारायण नगरपालिका वडा १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले ऐतिहासिक तोप पुन:स्थापनाले दैलेखको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए । ‘तोप पुन:स्थापना गरिनु ठूलो कुरा हो । यो हाम्रो अमूल्य सम्पत्ति हो,’ उनले भने, ‘यसको सुरक्षा रेखदेखको जिम्मा नगरपालिकाले गर्छ ।’

तोप राख्नलाई गढीमा संरचना बनाउन थालिएको छ । अहिलेसम्म गढीको मर्मतसम्वार लागि एक करोड पाँच लाख खर्च भएको जानकारी उनले दिए । स्थानीय ज्वाला क्लबका अध्यक्ष विशाल सुनारले कोतगढीको ऐतिहासिक गरिमा कायम गर्न तथा कोतगढीको पुरानै संरचनामा फर्काउनुपर्ने बताए । त्यसबेला दसैं लगायतका महत्त्वपूर्ण चाडपर्वहरुमा तोपको बढाइ पछि मात्र पूजाआजा सुरु हुन्थ्यो,’ उनले भने, ‘तोप पुन:स्थापना जिल्लाकै लागि खुसी कुरा हो, स्थानीयलाई जिम्मा दिनुभन्दा नेपाली सेनाले नै लिनु राम्रो हुन्छ ।कान्तिपुरबाट