☰ open Loading... 25 November 2024|  

२५ वर्षदेखि सडकमा परेको जग्गाको राजस्व असुली
  | १० पुष २०७८, शनिबार २०:५७

दैलेखको नारायण नगरपालिकाले नगरभित्र सडकमा परेका जग्गाको २५ वर्षदेखि राजस्व उठाउँदै आएको छ। सडकको लगत कट्टा नगर्दा नगरवासीले सडकको समेत राजस्व तिर्नुपरेको हो।

नारायण नगरपालिकाले नगरभित्रको कति वटा सडक छन्। कति जग्गा सडकमा परेका छन् त्यसको समेत हिसाव राखेको छैन। नगरमा टोलपिच्छे सडक सञ्जाल जोडिएको छ। नगरपालिकासंग कुनै कार्ययोजना नभएरै हचुवाको भरमा चल्दै आएको स्थानीय रमेश विसीले बताए।

अहिलेसम्म नगरपालिकाले सडकमा परेको जग्गाको लगत कट्टा नगरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले बताए। ‘अहिलेसम्म सडक मूल्याकंन र लगत कट्टा गरिएको छैन,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाले भने, ‘यो आर्थिक वर्षमा बजेट छुट्याईएकोले अब गर्ने तयारीमा छौं।’ नारायण नगरपालिका २०५२ सालमा स्थापना भएको हो।

राजस्व तिरे तर, जग्गा पाएनन्

जग्गा धनीसंग सहमति नलिई पूरै जग्गा सडककै फेरोमा पारेर सुकुम्बासी बनाएपछि नारायण नगरपालिका–६ रामपुर डाडाँका स्थानीय सुर्य चुनारा न्याय माग्दा सुनुवाई भएन। त्यसपछि उनले सडकमा ढुंगा झारेर सडक अवरुद्ध पारे। नगरप्रमुख रत्नबहादुर खड्काले प्रमुख जिल्ला अधिकारीमार्फत प्रहरी लगाएर सुर्यलाई थुनाए। उनले १७ वर्षदेखि नियमित राजस्व तिरिरहे तर, जग्गाको भोगचलन गर्न पाएनन्। न त क्षतिपूर्ती पाए।

‘२० मिटरको जग्गा पूरै सडक खनेर मासियो,’ पीडित सुर्य चुनारा भन्छन्, ‘सडक खन्दा खवर भएन, पछि आउँदा जग्गा र बुवाले बनाएको सानो टहरा नै थिएन।’ २०५५ सालमा २० मिटर जग्गा किनेर बसेका थिए। आफूले निकासका लागि मेयरलाई बारम्वार भन्दा केही सिप नलागेपछि सडकमा ढुंगा राखेको उनले बताए। आफूसंग छलफल नगरि प्रहरी लगाएर मेयरले थुनाएको आरोप सुर्यले लगाएका छन्।

नारायण नगरपालिकामा वर्षेनि जग्गाको तिरो तिरेको रंसिद।

‘नगर प्रमुख रत्नबहादुर खड्कालाई निकास दिनु परो भन्दा सरकारी प्रकृया समय लाग्छ बढी कुरा गर्ने होईन प्रहरीको चिसो खुवाउँछु भन्नुभयो,’ पीडित सुर्य चुनाराले भने, ‘मैले मेरो जग्गामा ढुंगा राख्दा प्रहरी लगाएर थुनाईयो। सडक पनि सहमति नदिई खने, यति वर्षदेखि न्याय नदिएर मेयरले थुनाए।’

चुनाराले नारायण नगरपालिकाको न्यायिक समितिमा दिएको उजुरी ७ महिनादेखि थन्किएको छ। निकासका लागि निर्णय नगरपालिकाले अहिलेसम्म गरेको छैन। सडकले पूरै जग्गा नै लिएपछि क्षतिपूर्ती दिनुपर्ने कानुनी ब्यवस्था (नजिर) छ। नगरप्रमुखको आग्रहमा प्रमुख जिल्ला अधिकारी मार्फत थुनामा राख्न आदेश आएकाले प्रहरीले पक्राउ गरेको दैलेखका प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।